कार्यवाहक नगर प्रमुखलाई अवधारणा–पत्र हस्तान्तरण

सप्तरी । २०८० असार २९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा शम्भुनाथ नगरपालिकामा गठित नगरस्तरीय मानवअधिकार समूहले मानवअधिकार मैत्री समाज निर्माणका लागी तर्जुमा गरेको अवधारणा–पत्र नगर कार्यवाहक प्रमुख अनिताकुमारी चौधरीलाई असार २८ गते हस्तान्तरण गर्नुभयो । मानव अधिकारका सवालहरू (वातावरणीय अधिकार, शिक्षा, स्वास्थ्य, विभेद र सामाजिक कुसंस्कार) सम्वोधन गर्दै मानव अधिकार मैत्री समाज निर्माण गर्न तर्जुमा गरिएको अवधारणा–पत्र मानव अधिकार समूहका अध्यक्ष पुल्कित भगतले कार्यवाहक नगर प्रमुख चौधरीलाई हस्तान्तरण गर्नुभएको हो । अवधारणा–पत्र अनुसारको कार्यक्रम सञ्चालन भएमा महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गतामैत्री घर, समुदाय र स्थानीय तहको घोषणा हुने, मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनाको कार्यान्वयनमा सहयोग पुग्ने, शिक्षा, स्वास्थ्य, वातावरण, लैङ्गिक र जातीय विभेद विरुद्धको हकको संरक्षण र सम्वर्द्धन हुने, जनसमुदायमा मानव अधिकार शिक्षाबारे जनचेतना फैलिने प्रतिफल प्राप्त हुने विश्वास गरिएको छ । नगरपालिका क्षेत्रमा देखिएका मानव अधिकारका सवालहरू सम्वोधन गर्न सोही अनुसारको कार्यक्रम सञ्चालनको माग राखि अवधारणा–पत्र बुझाइएको समूहका अध्यक्ष भगतले बताउनु भयो ।

अवधारणा–पत्रमा मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्‍याउने, शिक्षा, स्वास्थ्य, वातावरण र विभेद विरुद्धका अधिकारहरूको संरक्षण र सम्वर्द्धन गर्ने, प्रत्येक वडामा मानव अधिकार शिक्षा सम्बन्धी जनचेतनामा अभिवृद्धि गर्ने, बालविवाह, बालश्रम, बालयौन दुर्व्यवहार, बालजन्य हिंसा, दाइजो प्रथा, बोक्सी प्रथा र जातीय विभेद जस्ता सामाजिक विकृतिहरूमा कमी ल्याउने उद्देश्य समेटिएको छ । नगरपालिकालाई मानव अधिकारप्रति जिम्मेबार बनाउन मानव अधिकार समूहले समय–समयमा ध्यानाकर्षण गर्दै आइरहेको अध्यक्ष भगतले बताउनु भयो । मानव अधिकार शिक्षा कार्यक्रम संयोजक बरुण बस्यालले नागरिकको आधारभूत आवश्यक्ता परिपूर्ति गर्ने राज्यको जिम्मेबारी रहेकाले स्थानीय तह मानव अधिकार प्रति जवाफदेही बन्नुपर्ने र मानव अधिकारमैत्री समाज निर्माणका लागि कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताउनु भयो । अवधारणा–पत्र हस्तान्तरण कार्यक्रममा इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवान, इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेल, नगरपालिकाको कार्यपालिकाका सदस्यहरू, विभिन्न शाखाका प्रमुखहरू, मानवअधिकार समूहका पदाधिकारीहरूको सहभागिता रहेको थियो । अवधारणा–पत्र बुझ्नु हुँदै नगर कार्यवाहक प्रमुख चौधरीले नगरपालिका भित्र शिक्षा, स्वास्थ्य, वातावरण र विभेद विरुद्धका अधिकारहरूसँग केन्द्रित अभियान र कार्यक्रमहरू सञ्चालन गरिने विश्वास दिलाउनु भयो ।

मनोहकुमार पोखरेल