किशोरीहरुलाई आत्मरक्षा अनुशिक्षण कार्यक्रम सम्पन्न

दैलेख । २०८० साउन १० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा ‘किशोरीहरुका लागि आत्मरक्षा अनुशिक्षण’ कार्यक्रम साउन ८ गते नारायण नगरपालिकामा सम्पन्न भएको छ  । सहजकर्ता सुनिता सुनारले किशोरीहरु विद्यालय जाँदा, मेलापात जाँदा वा जहाँकहीँ असुरक्षित भइरहेको अवस्था आत्मरक्षा तालिमले सावधानी र आइपर्दा सुरक्षा सजगता बढाउने बताउनुभयो । उहाँले सावधानी अपनाउदा पनि बलात्कार घटना भइहालेको अवस्थामा हरेक घटनामा कानूनी प्रक्रिया बढाउन सके अपराध रोकथाम र शान्ति अमनचैन कायम गर्न सकिने बारे सहजीकरण गर्नुभएको थियो ।

यौनजन्य दुव्र्यहार र बलात्कारबाट जोगिन अपनाउनुपर्ने सावधानी, मौखिक प्रतिवाद, कुटनीतिक संवाद शैली र कानूनी उपचार चार क्षेत्रको उपयोगिता विषयमा चर्चापछि बदनियतले गरिने शारीरिक स्पर्शदेखि बलात्कार प्रयासको बेला जागिने ११ वटा सीप विषयमा प्रयोगात्मक अभ्यास विषयमा अर्का सहजकर्ता युवा अभियन्ता प्रतिमा थापामगरले गर्र्नुभएको थियो । इन्सेकको अधिकार–२ परियोजना दैलेखको दुल्लू र आठबीस नगरपालिकामा लैंगिक हिंसा र जातीय विभेद रोकथामका निम्ति गतिविधि गरिरहेको छ । यही परियोजना अन्तरगतको ‘किशोरीहरुका लागि आत्मरक्षा अनुशिक्षण’ अभियान भने जिल्लाका अरु पालिकाहरुमा पनि सञ्चालन भइरहेका छन् । जन्मदिने बाबु, दाजुभाई र नजिमका आफन्तबाट समेत असुरक्षित हुनुपरेको कैयौं घटनाहरुले हरेक किशोरीलाई आत्मरक्षाको ज्ञान हुनुपर्ने आवश्यकता महशुस भएकै बेला तालिम लिन पाएकोमा खुशी लागेको सहभागीहरुले प्रतिक्रिया दिएका छन् ।

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत