किशोरी आत्मरक्षाको लागि जीवनको उपयोगी सीपसम्बन्धी सचेतना कार्यक्रम
दैलेख । २०८० असार ८ गते
जनता मावि कोटथाप्लाका प्रधानाध्यापक रोशन सापकोटाले समाजमा यौन हिंसा बढ्दै गइरहेको बेला किशोरी आत्मरक्षा जीवन उपयोगी शिक्षा भएको बताउनुभएको छ । इन्सेकले असार ६ गते नारायण नगरपालिका–२ कोटथाप्लामा आयोजना गरेको किशोरी आत्मरक्षासम्बन्धी समुदाय स्तरको सचेतना कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो । यौनजन्य हिंसाबाट जोगिने सीप प्रयोग गर्ने र पींडा पुर्याउनेलाई कानुनी कारबाही गराउन पछि हट्न नहने इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले बताउनुभयो । कार्यक्रममा युवा अभियन्ता सुनिता सोनी र प्रतिमा थापाले अभिमुखीकरण सहजीकरण गर्नुभएको थियो ।
त्यसैगरी इन्सेकले फूलवारी विद्या मन्दिर र गुराँस कप्यूटरका अध्ययनरत विद्यार्थीहरुलाई यौनजन्य घटनाबाट जोगिने उपाय र सजगता विषयमा युवा अभियन्ताद्वय सोनी र थापाले सहजीकरण गर्नुभएको थियो । अभिमुखीकरणमा सहभागी किशोरीहरुले यौन दुर्व्यवहार झल्किने बोली, व्यवहार, हाउभाउ र चालचलन बारे जान्न र बलात्कारजन्य घटनाबाट जोगिने उपाय जान्न पाएकोमा खुशी प्रकट गरेका थिए । विद्यालय प्रशासन र इन्स्टिच्यूट सञ्चालकहरुले यस्ता अभिमुखीकरण निरन्तरता दिन आग्रह गर्नुभएको छ ।
अमर सुनार