कोभिड महामारीमा मानव अधिकार रक्षहरू पनि जोखिममा

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत । २०७८ जेठ १२

कोभिड महामारीको अवस्थामा मानव अधिकार रक्षकहरूको अवस्था पनि जोखिममा रहेको सरोकारवालाले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र डिसिए परियोजनाको आयोजनामा जेठ ११ गते भर्चुअलमार्फत गरिएको मानव अधिकार सहायता कक्षको बैठकका सहभागीहरूले अरूको अधिकारका लागि पैरवि गर्ने मानव अधिकार रक्षहरू नै कोभिड सङ्क्रमणमा पर्नुको साथै आर्थिक अवस्थाबाट समेत गुज्रिएको बताएका हुन ।

मानव अधिकार रक्षक सञ्जालका सहसंयोजक एवम् वामका कार्यकारी निर्देशक मधुरानी ढकालले जोखिममा परेका मानव अधिकार रक्षक र अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरहरूका लागि तत्काल कुनै सहयोगको कामहरु गर्नुपर्ने बताउनुभयो । मानव अधिकार रक्षकहरूको देखिने पोशाक तथा परिचयपत्र नहुँदा निषेधाज्ञामा काम गर्न समस्या भएको पनि ढकालको भनाई थियो ।

यस्तै उच्च अदालत वार एसोसिएशनका अध्यक्ष उक्तमप्रसाद आचार्यले सहायता कक्षले अनुरोध गरेका दुइजना हिंसा पीडितहरूलाई निशुल्क कानुनी सेवा दिएको बताउनु भयो । जिल्ला वार एसोसिएशन सुर्खेतका कोषाध्यक्ष गिता कोइरालाले कतिपय पीडितहरूको दर्दनाक अवस्था भएकोले उनीहरूको पुर्नस्थापना एवं गास वास र कपासका लागि सामुहिक रूपमा सहयोग गर्नुपर्ने बताउनुभयो ।

बैठकमा राष्ट्रिय मानव अधिकार आयोग शाखा कार्यालय जुम्लाका प्रमुख बुद्धनारायण साहनीले आयोगले मानव अधिकार रक्षहरूको लागि निर्देशिका जारी गरेको बताउँदै कोभिड महामारीको समयमा सबै सरोकारवाला निकाय मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक बिजयराज गौतमले कोभिड सङ्क्रमणको अवस्थामा मानव अधिकारको संरक्षणको लागि संयुक्त रूपमा प्रभावकारी कामहरू गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रमको सहजीकरण गर्दै इन्सेक कर्णाली प्रदेश कार्यालयका प्रमुख नारायण सुवेदीले मानव अधिकार सहायता कक्षले गरीरहेको कामको बारेमा जानकारी गराउनु भएको थियो । यसैगरी इन्सेकका परियोजना प्रमुख सरीता पुरीले मानव अधिकार रक्षक सञ्जालले हिंसा पीडितहरूलाई न्याय दिलाउन गरेको कामको प्रशंसा गर्दै महामारीको अवस्थामा नयाँ ढङ्गबाट काम गर्नुपर्ने धारणा राख्नुभयो ।

कोभिड सम्बन्धी जनचेतनामूलक जिङ्गलहरू प्रशारण गर्न, हेल्प लाइन सेवा सञ्चालन गर्न, कानुनी तथा मनोसामाजिक परामर्श लगायत कामहरू गर्नका लागि आवश्यक समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।