कोभिड रोकथाम र नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न माग
कपिलवस्तु । २०७८ असार १० गते
इन्सेक कपिलवस्तु र डिसिएको सहयोगमा मानव अधिकार रक्षक सञ्जालले कोभिड रोकथाम र नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न माग गर्दै असार ९ गते जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्रमा कोभिड–१९ को दोस्रो लहरको सुरुका दिनमा अस्पतालहरूमा बिरामी राख्ने ठाउँ र अक्सिजन अभाव तथा आवश्यक औषधि र उपकरणहरू सहज उपलब्ध हुन नसक्दा ज्यान गुमाउनु परेको र हाल सङ्क्रमित हुने दरमा केही कमी आए पनि अपेक्षाकृत सुधार हुन नसकेको, सरकारले रोकथाम र नियन्त्रणका लागि निषेध आदेश जारी गरेका कारण ज्यालामजदुरी गरी जिविकोपार्जन गर्ने वर्गलाई सङ्कट उत्पन्न भएकोले कोभिड सङ्क्रमण रोकथाम र नियन्त्रणमा प्रभावकारी कदम चाल्न भनिएको छ ।
यसैगरी, कोभिड विरूद्धको खोप सम्पुर्ण जनताले लगाउन पाउने सुनिश्चिता गर्नुपर्ने, पीसीआर तथा एन्टिजीन किटको व्यवस्था गरी परीक्षणको दायरा बढाउनु पर्ने, निषेध आदेशका कारण खाना खान नपाउनेवर्गलाई विषेश राहत प्याकेज कार्यक्रमको व्यवस्था गर्नुपर्ने, दिर्घरोगीहरूलाई चाहिने आवश्यक औषधिको पर्याप्त मात्रामा आपुर्ति गर्नु पर्ने ध्यानाकर्ष पत्रमा उल्लेख छ । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले ध्यानाकर्षण पत्रलाई तत्काल सम्बन्धित निकायहरूमा पठाउने र आफुले पनि जिल्लामा रहेका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले विभिन्न सञ्जालबाट आउने ध्यानाकर्षणले कहाँ के समस्या छ भन्ने विषयमा जानकारी हुने र समाधानका लागि सहयोग पुग्ने बताउनु भयो ।
पार्वती आचार्य