कोभिड-१९ को महामारीका कारण मनव अधिकारको अवस्था खस्कँदो

धादिङ । २०७७ मङ्सिर ९ गते

 

नागरिक समाज तथा सञ्चचारकर्मीले हालको परिवेशमा मानव अधिकारका सवालहरूमा आवाज उठाउन नसक्दा र पीडितहरूको  अधिकारका लागि लाग्न नसकेकोले कोभिड–१९ को महामारीमा मनव अधिकारको अवस्था खस्कँदो क्रममा रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा धादिङबेसीमा ०७७ मङ्सिर ९ गते जिल्लामा मानव अधिकार अवस्थाको बारेमा नागरिक समाज तथा सञ्चारकर्मीको भूमिका विषयमा भएको छलफलका सहभागीहरूले साे कुरा बताएका हुन् ।

कोभिड–१९ महामारीको समयमा जिल्लाको समग्र मानव अधिकारको अवस्था दयनीय भएको र मानव अधिकारको पैरबी गर्ने नागरिक समाज तथा सञ्चारकर्मीले समेत एकिकृत रूपमा आवाज उठाउन नसकेकोले अब मानव अधिकार संरक्षणमा सरकारलाई दबाब दिनु पर्नेमा सहभागीहरूले जोड दिएका छन् । मानवअधिकारका मुख्य पक्ष आर्थिक सामाजिक र साँस्कृतिक अधिकार सम्बन्धी विषयमा नागरिक समाज सञ्चारकर्मीहरूले पैरबी गर्नुपर्नेमा इन्सेक केन्द्रीय कार्यलयका मानव अधिकार प्रलेख तथा पैरबी विभाग प्रमुख श्रीराम बजगाईँले बताउनुभएको छ । बन्दाबन्दीको अवस्थामा मानव अधिकारको अवस्था कमजोर भएको र नागरिकले आधारभूत अधिकारहरू समेत उपभोग गर्न समस्या परेको डेक नेपालका शेरबहादुर भण्डारीले बताउनु भएको छ ।

मानव अधिकारकर्मी तथा अधिवक्ता राधिका सापकोटाले बन्दाबन्दीको अवस्थामा घरबाट बाहिर निस्केर घरेलु हिंसा र महिलामाथि हुने अधिकारहनन्का घटनामा छिटो न्याय निरुपण नहुँदा महिलाहरू थप पीडामा पर्ने गरेको बताउनुभयो । कार्यक्रममा महिला अधिकारकर्मी गायत्री खतिवडाले नागरिक समाजले एकिकृत आवाज नउठाउँदा आम नागरिकका सवालमा पैरबी नभएको बताउनुभएको छ । इन्सेकले मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटना समेटेर हरेक वर्ष नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ भने मानवअधिकार शिक्षा तथा प्रवर्धन र सम्बर्धनका लागि पैरबी कार्यक्रम पनि चलाउँदै आएको छ ।

सीताराम अधिकारी