





काभ्रे । २०७७ असोज २४ गते
कोभिड–१९ को रोकथाप तथा नियन्त्रणमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने गैसस महासङ्घका अध्यक्ष जीताराम लामाले बताउनु भएको छ । कोभिड–१९ ले पारेको पारेको प्रभाव र नागरिक समाज तथा सञ्चार जगतको भूमिकाबारे अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज २४ गते काभ्रेमा गरेको भर्चुअल कार्यक्रममा गैसस महासङ्घका केन्द्रीय अध्यक्ष लामाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सङ्गठित/असङ्गठित नागरिक समाज र पत्रकारको भूमिका महत्वपूर्ण रहेने बताउनु भएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले चाडवाड नजिकिएसँगै भिडभाड बढेको र यसले कोभिड–१९ सङ्क्रमणको जेखिम बढाउने हुनाले नगरिक आफै सतर्क हुनुपर्ने बताउनु भयो । उहाँले जिल्लामा थप जोखिम हुन नदिन आवश्यक स्वास्थ्य मापदण्ड पालना गराउन सुरक्षाकर्मी परिचालन गरिएको भए पनि जनता आफै सचते हुनुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारीले नागरिक समाज र सञ्चार जगतको सहयोगले यस विषम परिस्थितिमा हुने अनियमितता रोख्न, जनतालाई जागरुप बनाउन र सरकारको कामलाई अनुगमन गर्ने कार्य नियमित बनाएको लगायतका विषयमा आफ्ना धारणा राख्नु भएको थियो ।
यसैगरी, जिल्लामा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दै गएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले बताउनु भयो । डाक्टर झाले अस्पतालका आइसोलेशनमा कोभिड–१९ का सङ्क्रमितले ठाँउ नपाउने अवस्था रहेको हुँदा लक्षण नदेखिएका सङ्क्रमितहरूलाई होम आइसोलेशनमा बस्न आग्रह गर्नु भयो । उहाँले कोभिड–१९ का लक्षण भएका र स्वास्थ्य अवस्थमा जटिल हुनेहरूले मात्र अस्पतालको आइसोलेशनमा आउनु पर्ने अवस्था आएको बताउनु भयो । कोभिड–१९ सङ्क्रमण दर बढेपछि जिल्ला अदालतको कार्य सम्पादन रोकिएको जिल्ला बारका अध्यक्ष दिलकुमार मोक्तानले बताउनु भयो । नेपाल पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनाले जिल्लामा तीन जना पत्रकार कोभिड–१९ सङ्क्रमण पुष्टि भए पनि पत्रकारहरू जोखिम मोलेर जनतालाई सुसूचित गर्ने कार्यमा खटिरहेको बताउनु भयो । कार्यक्रम इन्सेकका बागमती प्रदेश संयोजक कृष्ण गौतमले नागरिक समाज र सञ्चार जगतले कोभिड–१९ को रोकथाम नियन्त्रण र व्यवस्थापनमा गरेको कार्य महत्वपूर्ण रहेको बताउनु भयो ।