








भक्तपुर । २०७७ पुस १ गते
कोभिड–१९ माहामारीका बेलामा नगरपालिकाले जनतालाई सहज रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न नसकेको स्थानीयले गुनासो गरेका छन् । चाँगुनारायण नगरपालिका–८ सुडालमा मङ्सिर २९ गते आयोजना गरेको कोभिड–१९ ले स्वास्थ्य क्षेत्रमा पारेको प्रभाव र आगामी नीति तथा योजना विषयक ‘स्वास्थ्य अधिकारसम्बन्धी सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रम’का सहभागीहरूले सो गुनासो गरेका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाग्मती प्रदेशको आयोजनामा नगरस्तरीय मानव अधिकार समूह चाँगुनारायणको समन्वयमा भएको उक्त कार्यक्रमका सहभागीहरूचाँगुनारायण नगरपालिकाक वडा नं. ८ का वडाध्यक्ष परासर सापकोटाले कोभिड–१९ को माहामारीको बीचमा शिक्षा, स्वास्थ्यदेखि रोजगारीसम्ममा प्रत्यक्ष प्रभाव पारेको बताउँदै स्वास्थ्य क्षेत्रमा नगरपालिकाले विशेष पहल गर्दै स्वास्थ्य संस्थालाई नियमित सञ्चालनमा ल्याएको बताउनुभयो ।
स्वास्थ्य क्षेत्रलाई अझै शसक्त रूपमा अगाडि बढाउन र सहज स्वास्थ्य सेवाको पहुँच स्थानीय जनता समक्ष पुर्याउने नीति तथा योजना बनाउन आवश्यक रहेको औल्याउनुभयो । जनताको स्वास्थ्य अधिकारको सुनिश्चितताको लागि नगरपालिकाले कुनै कसर बाँकी नराख्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख सत्यकुमार दुवालले खरिपाटीमा चीनबाट ल्याएको विद्यार्थी राख्दा स्थानीयमा धेरै त्रास बढे पनि पछिल्लो समयमा सङ्क्रमित बढी तर त्रास कम हुँदै गएपछि कोभिड सङ्क्रमणका बीचमा पनि मानिसहरूको जनजीवन सामान्य बन्दै गएको बताउनुभयो । दुलालले नगरपाकिला भित्र हालसम्म १ हजार ४ सय जनाको पीसीआर परीक्षण गरिएको, सक्रिय सङ्क्रमित ६३ जना रहेको र मृत्यु हुनेको सङ्ख्या आठ जना भएको बताउदै बृद्ध, गर्भवति महिला, दीर्घ रोगी र बालबालिका कोभिडको सङ्क्रमणबाट जोगिन बढी सचेत हुनुपर्ने औल्याउनुभयो ।
चाँगुनारायण नगरपालिकाले हालै सञ्चालनमा ल्याएको नगर अस्पताललाई कोरोना बिरामीको उपचार गर्ने अस्पतालको रूपमा लैजाने बताउँदै त्यसका अतिरिक्त अन्य सेवाहरू पनि सञ्चालन गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा पञ्चकन्या माध्यामिक विद्यालयका प्रधानाध्यापक सन्तराम दुलालले नगरपालिकाले विद्यालय सञ्चालनका लागि कक्षा कोठामा एन्टिभाइरस स्प्रे छर्किएको, आवश्यक मास्क, स्यानेटाइजर, सावुन दिएकाले सहज भएको बताउँदै यसलाई दीर्घकालीन रूपमा सहयोग गर्नुपर्ने बताउनुभयो । त्यस्तै महेन्द्र ग्राम माविका प्रधानाध्यापक सोमकुमार श्रेष्ठले विद्यालयमा विद्यार्थीलाई स्वस्थ्यकर खाजाको व्यवस्था गर्नेदेखि नगरपालिकाले प्रदान गरेको स्वास्थ्य सामाग्री पर्याप्त नभएकाले अभिभावकबाट उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडा नं ८ का स्वास्थ्य चौकीका इन्चार्ज राजन खड्काले कोभिडको महामारीका बीचचमा पनि स्वास्थ्य सेवालाई सूचारु राख्दै जनताको सेवाका खटिएको बताउनुभयो । कार्यक्रममा सेवाग्राहीहरू रामबहादुर थापा, भरत कार्की लगायत सहभागीहरूले नगरपालिकाले जनचेतना अभिबृद्धि गर्न नसकेको र स्वास्थ्य संस्थाहरूमा जाँदा सहज रूपमा सेवा पाउन नसकेको गुनासो गर्नुभयो । कार्यक्रममा कार्यपालिका सदस्य कृष्ण कार्कीले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानमा नगरपालिका तत्पर रहेको बताउनुभयो । मानव अधिकार समूहका उपसंयोजक अम्बिका खत्री, समूहका कार्यबाहक संयोजक रामगोपाल श्रेष्ठ लगायतले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि नगरपालिका गम्भीर हुनु पर्नेमा जोड दिनुभयो ।
रमेश गिरी