कोभिड–१९ व्यवस्थापन र स्वास्थ्य उपचारको अवस्था बारेमा छलफल सम्पन्न
तनहुँ । २०७८ असार २० गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको टोलीले असार १८ गते तनहुँ जिल्लामा कोभिड–१९ व्यवस्थापन, निषेध आदेश कार्यान्वयनको अवस्था, प्राकृतिक प्रकोप क्षतिको अवस्था, पुर्वतयारी, बजार अनुगमन र स्वास्थ्य उपचारको अवस्थाको बारेमा निमित्त प्रमुख जिल्ला अधिकारी र दमौली अस्पतालका प्रमुखसँग छलफल गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङद बराल र दमौली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.सुनिल पौड्यालसँग भएको गरि छलफलमा निमित्त प्रजिअ बरालले तनहुँमा अहिले कोभिड –१९ को ५ सय भन्दा बढी सक्रिय सङ्क्रमितका भएको जानकारी दिनुभयो । उहाँले सङ्क्रमण थप फैलिन नदिन स्वाब परीक्षण र एण्टिजेन परीक्षणलाई प्राथमिकता दिन स्थानीयतहलाई अनुरोध गरिएको बताउनुभयो ।
आगामी असार २४ गतेसम्म तनहुँमा निषेध आदेश जारी रहेको र सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिइएको बताउनुभयो । विशेषगरि व्यवसायीले स्वास्थ्य मापदण्ड पालना नगरेको पाइएमा कानुन अनुसार कारवाही गरिने उहाँको भनाइ थियो । उहाँले स्वास्थ्यको अधिकार अन्तरगत निजी अस्पतालले स्वाब सङ्कलन गरी पिसिआर परीक्षणको क्रममा निर्धारित मुल्य भन्दा महङ्गो शुल्क लिने गरेको र निजी अस्पतालमा स्वाब परीक्षण गर्ने तालिम प्राप्त स्वास्थ्यकर्मी समेत नभएको हुँदा नीजि अस्पताललाई स्वाब सङ्कलन र परीक्षण गर्न रोक लगाइएको बताउनुभयो । पछिल्लो दिनमा आएको बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपको कारण दुई जनाको मृत्यु भएको र आठ जना घाईते भएकोे जानकारी दिदै उहाँले यस कारण धेरै ग्रामिण सडकहरु पनि क्षत विक्षत भएको र अबको प्राथमिकता पुनःर्निमाण हुनुपर्नेमा जोड दिनुभयो ।
दमौली अस्पतालका प्रमुख डाक्टर पौड्यालले दमौली अस्पतालमा आइसियु प्रविधिबाट उपचार सुरु गरिएको र अहिले अस्पतालमा आइसियुमा तीन जना गरी १० जना कोभिड सङ्क्रमितको उपचार भइरहेको जानकारी दिनुभयो । हालसम्म दमौली अस्पतालमा १ सय ८० जना कोभिड बिरामीको उपचार भएको मध्ये एक जनाको मृत्यु भएको उहाँले बताउनुभयो । भौतिक पुर्वाधारको अभाव भएपनि कोभिड सङ्क्रमितका साथै अन्य बिरामीको उपचार, सुत्केरी सेवा र मृगौला डायलाइसिस सेवा निरन्तर सञ्चालन गरिएको उहाँले बताउनुभयो । अनुगमनको क्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रदेश निर्देशक चन्द्रकान्त चापागाईले जस्तोसुकै परिस्थितीमा पनि नागरिकको अधिकार हनन हुन नहुने बताउनुभयो ।
अहिले कोभिडको बिरामी उपचार गर्ने क्रममा कतिपय अस्पतालले अन्य बिरामीको उपचार गर्न नमान्ने तथा निजी अस्पतालहरुले महङ्गो शुल्क लिने गरेको बारेमा पनि बेलाबेलामा अनुगमन गरिनुपर्ने उहाँको भनाइ थियो । इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले विपद्को बेलामा पनि राज्यका निकायहरु सक्रिय र चुस्त बन्नुपर्ने बताउनुभयो । विपद् तथा निषेध आदेशको समयमा कालोबजारी तथा गुणस्तरहिन वस्तु तथा सेवाको बिक्री वितरण हुने भएकोले बजार अनुगमनको कार्यलाई पनि प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो । दमौली अस्पतालको अनुगमनपछि आयोगका निर्देशक चापागाईले दमौली अस्पतालले न्यून जनशक्ति, भौतिक पुर्वाधारको कमी र सिमित श्रोत साधनमा पनि कोभिडको समयमा नागरिकको स्वास्थ्य अधिकार प्रत्याभूत हुने गरी कार्य गरेको बताउनुभयो । इन्सेक गण्डकी प्रदेश संयोजक खकुरेलले पनि दमौली अस्पतालको सेवा प्रवाह राम्रो पाइएको बताउनुभयो ।
प्रकाशचन्द्र भट्टराई