कोरोना बिमा रकम भुक्तानी दिनुपर्नेमा जोड
सुर्खेत । २०७७ मङ्सिर १४ गते
सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र केसीले कोरोना बिमितहरूलाई सहजरूपमा बिमा रकम भुक्तानी दिनुपर्नेमा जोड दिनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेत, गैरसरकारी संस्था महासंघ र मानव अधिकार समूह वीरेन्द्रनगरले मङ्सिर १२ गते वीरेन्द्रनगरमा आयोजना गरेको स्वास्थ्यको अधिकार र कोरोना बिमा प्रक्रिया विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले सो कुरामाजोड दिनु भएको हो । नीति तथा कार्यविधीमा जुन कुरा उल्लेख भएपनि बिमा गरिसकेका कोरोना बिमितहरूलाई अनिवार्य रूपमा बिमा रकम भुक्तानी दिनुपर्ने, बिमा कम्पनीहरूमा कार्यरत कर्मचारीहरूले सही सूचना दिनुपर्ने र बिमितहरूसँग कुसल व्यवहार गर्नुपर्ने अध्यक्ष केसीले उल्लेख गर्नु भयो ।
कोरोनाको गलत रिपोर्ट पेश गर्ने र रिपोर्ट बनाउन सिफारिस कर्तालाई तत्काल कारवाहीको दायरामा ल्याउनु पर्ने कुरामा जोड दिदै अध्यक्ष केसीले कोरोना बिमितहरूलाई सहज रुपमा बिमा उपलब्ध गराउन नियमन गर्ने निकायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले कोरोना बिमितहरूलाई बिमा रकम भुक्तानी दिन झन्झटिलो प्रक्रिया भएपनि बिमा कम्पनीहरूले यसलाई सहज बनाउन र कोरोना बिमितहरूसँग सकारात्मक व्यवहार गर्र्नुपर्नेमा जोड दिनु भयो । वीरेन्द्रनगर नपा ६ का अध्यक्ष मोतिप्रसाद कंडेलले कोरोना बिमितलाई समयमै सहज रूपमा बिमा भुक्तानी गर्न आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यकलेन्द्र सेजुवालले प्रक्रियाझन्झटिलो र जटिलता देखाउदै कोरोना बिमितहरूलाई समयमै बिमा रकम उपलब्ध गराउनबाट बिमा कम्पनीहरू उम्कन नमिल्ने बतउनु भयो ।
यस्तै जिल्ला जन स्वास्थ्य कार्यालय सुर्खेतका सिनियर अहेब अम्मर रानाले कोरोनाको गलत रिपोर्ट बनाउने र बनाउन लगाउनेलाई प्रमाण सहित कारवाही गर्न जनस्वास्थ्य कार्यालय तयार भएको बताउनु भयो । कार्यक्रममा इन्सेक कर्णाली संयोजक नारायण सुवेदीले कोरोना बिमितहरूले समयमै बिमा रकम नपाउनु सार्वजनीक चासोको विषय भएकोले सेवाग्राही र सेवा प्रदायकबीच विश्वासिलो वातावरणको सहजीकरण गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष घनश्याम केसीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा बिमा कम्पनीका प्रतिनिधि, कानुन व्यवसायी, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधि, कोरोना बिमितहरू र सञ्चारकर्मीहरूको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण इन्सेक कर्णाली प्रदेश कार्यालयका फोकल पर्सन दिलबहादुर चौधरीले गर्नु भएको थियो ।
दुर्गा थापा