खाद्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

नवलपरासी (सुस्ता पूर्व) । २०७८ असार २७ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा विनयी त्रिवेणी गाउँपालिकामा खाद्यको अधिकार सम्बन्धी अन्र्तक्रिया कार्यक्रम असार २५ गते सम्पन्न भएको छ । शिक्षक, अभिभावक, विद्यार्थी र कृषकहरुबिच आयोजना गरिएको खाद्यको अधिकार सम्बन्धमा अन्तरक्रिया कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका–२ का वडाध्यक्ष बिष्णु ढकालले प्रमुख आतिथी रहनुभएको थियो । कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका कृषि शाखाका मनोज चापागाईंले गाउँपालिकामा खाद्यान्न उत्पादनको अवस्था, माग र आपूर्तिको व्यवस्था एवम पोषणयुक्त खानेकुराको बारेमा जानकारी दिनुभएको थियो । वर्षेनी आउने बाढी र पहिरोले पुर्‍याउने क्षतिको कारण गाउँपालिकाको विभिन्न स्थानमा खाद्यन्न उत्पादन घट्न गइ कृषक स्वयम्लाई खाद्य सङकटको समाना समेत गर्नुपर्ने अवस्था सिर्जना हुने गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिष्णु ढकालले मानिसको नैसर्गिक अधिकार रुपमा रहेको खाद्य अधिकारको प्रत्याभूति गर्न गाउँपालिका, वडाहरु गम्भीर रहेको बताउनुभयो । कृषि क्षेत्रको आधुनिकीकरण गर्दै खाद्य सङ्कट आउन नदिने वातावरण तय गर्न सबै पक्ष लाग्नुपर्ने उहाँले बताउनुभयो । विद्यालय शिक्षामा रहेका बालबालिकाको लागि सञ्चालित दिवा खाजा कार्यक्रमले विद्यार्थीको आकर्षण संगै पोषणयुक्त खानपानको व्यवस्थापनमा सहयोग पुगेको भन्दै कार्यक्रमको निरन्तरता र बजेट बृद्धिमा ध्यान पुर्याउन आवश्यक रहेको वडाध्यक्ष ढकालले बताउनुभयो । अन्तरक्रियामा सहभागीहरुले विभिन्न समयमा आउने बाढी पहिरोले बालीमा पुर्याएको क्षतिको कारण सिर्जित समस्याले खाद्य सङ्कटको रूप लिनसक्ने देखिएको भन्दै कृषक र विपन्न परिवारलाई खाद्यन्नको व्यवस्थापन तथा राहतको लागि सम्बन्धित पक्ष गम्भीर बन्न आवश्यक रहेको बताउनुभयो ।

तिर्थराज डुम्रे