खाद्यको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
नवलपरासी (सुस्ता पूर्व) । २०७८ पुस २४ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजनामा खाद्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम पुस २३ गते विनयी त्रिवेणी गाउँपालिका–१ को सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका कृषि शाखाका प्राविधिक मनोज चापागाईंले गाउँपालिकामा कृषि उत्पादनको अवस्था बारे जानकारी गराउदै प्रस्तुती गनर््ुभएको थियो । गाउँपालिकामा कृषि उत्पादन र मागको अवस्था तथा उत्पादनको बजार अनुगमनको विषयमा उहाँले जानकारी गराउनुभयो ।
गाउँपालिकामा कोल्ड स्टोर निर्माण चरणमा रहेको जानकारी गराउदै उहाँले गाउँपालिकाको बजार क्षेत्रमा नियमित रुपमा हुनुपर्ने बजार अनुगमन हुन नसकेको भन्दै बजार अनुगमनलाई सम्बन्धित पक्षले नियमित गराउनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा सहभागीहरुले गाउँपालिकाले कृषि तथा पशुपालनको क्षेत्रमा दिएको सेवा सुविधाको बारेमा छलफल गरेका थिए । उनीहरुले आर्गनिक खाद्य उत्पादन, कोल्ड स्टोर निर्माण लगायतको बारेमा गाउँपालिकाबाट भएको कार्य बारे छलफल गरेका थिए । कार्यक्रममा इन्सेकद्वारा विनयी त्रिवेणी गाउँपालिकामा गठन गरिएकाे मानव अधिकार समुहका अध्यक्ष धर्म बहादुर जि.सी.ले गाउँपालिकामा मानव अधिकारको प्रर्बद्धनमा आफूहरु क्रियाशिल रहदै आएको बताउनुभयो ।
तिर्थराज डुम्रे