खाद्य अधिकारका सरोकारवालामा अन्तरक्रिया सम्पन्न

झापा । २०७८ असार २२ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १ कार्यालयको आयोजनामा असार २१ गते अर्जुनधारा नगरपालिकामा खाद्य अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको  छ । इन्सेकद्घारा सञ्चालित “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने”इएलपी परियोजना अन्तरगत मानव अधिकार समूहको सहकार्यमा किसान, अधिकारकर्मी र पशुपंक्षी तथा कृषि शाखाबिच अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा पशुपंक्षी शाखाका शाखा प्रमुख पदमलाल राईले नगरपालिकाले वडा–२ खुदुनाबारी क्षेत्रमा चिलिम भ्याट राखेपछि किसानको दूधको मूल्य बढेको बताउनु भयो । उहाँले पशु धनको सुरक्षाका निमित्त पशु बीमा कार्यक्रम लागू गरी १८ लाख  रुपियाँ बराबरको पशु बीमा भुक्तानीको दाबी गरिएको बताउनु भयो  ।

कार्यक्रममा अधिकारकर्मी सोना गेलालले किसानले घाँसको बिउ नपाएको, पशुको उपचार निःशुल्क भने पनि पैसा लिने गरेको गुनासो गर्नु भयो । कृषक राज खम्बुले विभिन्न योजनाहरू टाठाबाठाले मात्रै पाएको, गरिबले केही नपाएको गुनासो गर्नुभयो । पशुपंक्षी शाखा प्रमुख राइले सरकारी नीतिका कारण कहिले गरिब किसानहरू पछाडि परेको बताउँदै, किसानसँग जोडिएर आएका समस्याहरू नगरपालिकामा पुर्‍याएर समाधान गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कृषि शाखा प्रमुख उर्मिला राजवंशीले कोभिड–१९ का कारणले कार्यक्रमहरू प्रभावित भएको बताउनु भयो । मानव अधिकार समूहका अध्यक्ष चन्द्र सुवेदीले किसानले समयमै नगरपालिकाबाट प्रवाह हुने सेवा नपाएको र सो मिलाउन नगरपालिकासँग आग्रह गर्नु भएको छ ।

नरेश खाती