खाद्य अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुनसरी । २०७७ माघ १२ गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजनामा माघ १२ गते कोशी गाउँपालिकामा खाद्य अधिकारको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्सेकद्वारा गठित मानव अधिकार समूहको सहकार्य तथा कोशी गाउँपालिकाको समन्वयमा खाद्य अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले गाउँपालिकामा पशुपालक किसानलाई प्रोत्साहन गर्न र उन्नत जातका दुधालु गाईभैँसी पालनका लागि प्रोत्साहन स्वरूप पशुप्रसुती भत्ता प्रदान गर्ने कार्यक्रम ल्याउन लागेको बताउनु भयो ।

कार्यक्रममा प्रशासकीय अधिकृत खगेन्द्र गिरीले कृषि क्षेत्रलाई उपेक्षा गर्न नसकिने बताउनुभयो । उहाँले खाद्य अधिकार मानव अधिकारसँग जोडिएको विषय भएकाले यसको गुणस्तरीयता र उत्पादनमा वृद्धि आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा पशु विकास शाखाका गोसाई यादवले श्रोत साधनले भ्याएसम्म कृषि सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने , दुध उत्पादन बढाउन किसानलाई घाँस खेतीतर्फ प्रोत्साहन गर्नुपर्ने, पशु स्वास्थ्य शिविरहरू सञ्चालन गर्नुपर्ने, पशु बीमा गर्नुपर्ने बताउनुभयो ।

अन्तरक्रियामा सहभागीहरूले खाद्य अधिकारका सवालमा गाउँपालिकाले समयसमयमा बजार अनुगमन गर्न आवश्यक रहेको बताए । बजार अनुगमन नहुँदा उपभोक्ता म्याद सकिएका खाद्य वस्तु उपभोग गर्न बाध्य भएकाले त्यसले स्वास्थ्यमा समस्या हुने भएकाले त्यसतर्फ सचेत हुन आवश्यक रहेको बताए ।

 जयकृष्ण यादव