








सुर्खेत । २०७८ असोज ८ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतको आयोजना तथा मानव अधिकार समूह लेकवेसीको समन्वयमा खाद्य अधिकारको अवस्था र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम असोज ७ गते लेकवेसीमा सम्पन्न भएको छ । कार्यक्रममा नगरपालिकाका किसानले उत्पादित तरकारीको बजारीकरणमा समस्या रहेको गुनासो गरेका थिए । कृषकहरूले उत्पादन गरेको वस्तुले उचित बजार तथा मुल्य नपाउँदा किसानहरू सङ्कटमा परेको उनीहरूको भनाइ थियो ।
नगरपालिका क्षेत्र भित्र वजार अनुमगन नहुँदा म्याद नाघेका वस्तु बिक्री वितरण भइरहेकाले नगरपालिकाले त्यस तर्फ ध्यान दिनु पर्ने मानव अधिकार निगरानी समूह लेकवेसीका अध्यक्ष निरूकुमारी थापाले बताउनु भयो । उद्योग व्यवसाय व्यवस्थित गर्नुपर्ने, स्थानीय स्तरमा वजार अनुगमन गर्नु पर्ने, समयमा किसानले मल बीउ लगायत सौलियतहरू समयमा नै प्राप्त गर्नु पर्ने विषयमा छलफल भएको इन्सेकका सहजकर्ता विन्दुलाल रेग्मीले बताउनुभयो । सहभागीले नगरपालिकाले किसानलाई सुविधा दिन कल सेन्टरको स्थापना गरे पनि स्रोत साधनको अभावमा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको औंल्याएका थिए ।
लेकवेशी नगरपालिकाका प्रमुख गगनसिंह सुनारले किसानहरूलाई आवश्यक मात्रामा मल र बीउ उपलब्ध गराउन नगरपालिकाले पहल गरिरहेको बताउनुभयो । बजारमा खाद्य सामग्रीको गुणस्तर अनुगमन गरी खाद्य अधिकारको सुनिश्चितताका लागि पनि नगरपालिकाले काम गरिरहेको उहाँको भनाइ थियो । स्थानीय समुदायको उत्पादनको बजारीकरणमा आवश्यक सहयोग गर्ने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विनोद लम्साल