खाद्य अधिकारको विषयमा अन्तरक्रिया

रामेछाप । २०७८ मङ्सिर २८ गते

मन्थलीमा खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम मङ्सिर २८ गते सम्पन्न भएको छ । मानव अधिकार संरक्षण सञ्जाल रामेछापसँगको समन्वयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा कृषि ज्ञानकेन्द्र मन्थलीकी प्रमुख निर्मला गुरुङ तथा मन्थली नगरपालिका पशु सेवा शाखका प्राविधिक रोहिणी चापागाईँले यस आर्थिक वर्षमा सञ्चालन गर्ने कार्यक्रमको बारे जानकारी दिनुभएको थियो ।

Photo20211214Ramechhap2

ज्ञानकेन्द्र प्रमुख गुरुङले यस आर्थिक वर्ष जिल्लामा विभिन्न कार्यक्रमको लागि प्रदेश सरकारबाट १२ करोड र सङघीय सरकारबाट ३ करोड रुपैँया विनियोजन भएको जानकारी दिनुभयो । उहाँले ज्ञानकेन्द्रले मागमा आधारित कार्यक्रम सञ्चालन गर्ने पनि बताउनुभयो । कतिपय कार्यक्रमको माग नै नआउने बताउँदै यसमा सहयोग गर्न उहाँले नागरिक समाज र पत्रकारलाई आग्रह गर्नुभयो ।

Photo20211214Ramechhap1

मन्थली नगरपालिकामा पशु विकासमा अनुदान, पशु आहारा, रोग नियन्त्रण तथा उपचार र ल्याव तथा कृतिम गर्भाधान लगायतका कार्यक्रम रहेको पशुशाखाका प्राविधिक चापागाईँले बताउनु भयो । सञ्जालका संयोजक पाण्डव प्रसाईँको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीहरूले सरकारका कार्यक्रबारे तलसम्मका नागरिकले थाहा पाउने गरी सूचना प्रवाहको संयन्त्र निर्माण गर्न आवश्यक रहेको सुझाव दिनुभएको थियो । राज्यले दिने सेवा लिने मानिसहरू लगातार दोहोरिने तर आधारभुत तहका मानिसले सेवा नै नपाउने अवस्था रहेको उहाँहरूको गुनासो थियो ।

नबराज पथिक