खाद्य अधिकारको सवालमा अन्तरक्रिया सम्पन्न

दोलखा । २०७८ मङ्सिर २९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कालिञ्चोक गाउँपालिका–९ मा खाद्य अधिकारको सवालमा मङ्सिर २८ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा गाउँपालिमा कार्यरत कृषि प्राविधिक शान्ति खड्काले गाउँपालिकाले कृषिसम्बन्धी कार्यक्रम र नीतिका बारेमा जानकारी गराउँदै कृषिका क्षेत्रमा लगानि बढाउन थप पहल गर्ने बताउनु भयो । उहाँले प्राविधिकको अभाव भएका कारण कृषकलाई आवश्यक सेवा उपलब्ध गराउन नसकेकोमा आगामि दिनमा सुधार गर्दै जाने बताउनु भयो । व्यवसायिक कृषि पेशा गर्ने किसानलाई अनुदानमा कृषि सामाग्री उपलब्ध गराउने पालिकाको व्यवस्था भए तापनि कृषकहरुले चासो नदिने र विजियोजित बजेटसमेत खर्च हुन नसकेको खड्काले बताउनु भायो ।

कार्यक्रममा सहभागी मनकुमारी थामीले गाउँपालिकाले कृषिको क्षेत्रमा लगानी नगरेको, नगदे बाली कार्यक्रमलाई प्रत्साहन नगरेको, कृषि प्राविधिक कृषकले देख्न समेत नपाएको, समयमा मल, बिउ उपलब्ध हुन नसकेको बताउनु भयो ।कृषकले प्राविधिकको सेवा नपाउँदा अत्यधिक विषदीको प्रयोग हुने गरेको, जङ्कफुडको अत्यधिक प्रयोग भएको, बजार अनुगमन गर्ने कार्य समेत नहुने गरेको सेवाग्राहीको गुनासो थियो । कार्यक्रममा कालिका माध्यमिक बिद्यालयका प्रधानाध्यापक सन्तोष अधिकारीले सम्बन्धित निकायबाट समय/समयमा अनुगमन गर्न नसकेकोले बजार भाउमा एक रूपता नआएको, जङ्कफुडलाई नियन्त्रण गर्न नसकेको, उपभोग्य मिति नाघेका खाद्यन्न समेत विक्रिविरण हुने गरेको भन्दै स्थानीय सरकारले यस्ता विषयमा ध्यान दिनु पर्ने बताउनु भयो । उहाँले नगदे बाली कार्यक्रमलाई प्राथमिकतामा राखी योजना निर्माण गर्न र बजेटको व्यवस्थापन गर्नसके मात्र स्थानीय जनता खाद्यन्नमा आत्मनिर्भर हुने धारणा राख्नु भएको थियो ।

उद्धव पोखरेल