खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

तनहुँ । २०७८ कात्तिक २४ गते

इन्सेक तनहुँको आयोजना तथा मानव अधिकार समूह भानुको संयोजनमा खाद्य अधिकारसम्बन्धी सरोकारवालाबिचको अन्तरक्रिया कार्यक्रम कात्तिक २३ गते भानु नगरपालिकामामा सम्पन्न गरिएको छ । खाद्यसहित कृषि र पशुपन्छीको क्षेत्रमा नगरपालिकाले पारित गरेको नीति तथा कार्यक्रमको बारेमा सेवाग्राहीलाई जानकारी दिने तथा सरोकारवालाको धारणा लिने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज पौडेलले नगरपालिकाले कृषि तथा पशु सेवासम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखे पनि त्यसका लागि बजेट भने पर्याप्त छुट्याउन नसकेको बताउनु भयो ।

उहाँले जनप्रतिनिधिको कार्यकालको अन्तिम वर्ष भएको हुँदा काम देखाउन भौतिक पुर्वाधारको क्षेत्रम धेरै बजेट विनियोजन गर्दा शिक्षा, स्वास्थ्य, कृषि र पशुपन्छीको क्षेत्र ओझेलमा परेको बताउनु भयो । तर पनि जति रकम विनियोजन भएको छ, त्यसैबाट उपलब्धिमुलक काम गर्ने पौडेलको भनाइ थियो । पौडेलले खाद्य अधिकार मौलिक अधिकार भएको हुँदा त्यसको कार्यान्वयनमा स्थानीय सरकार लाग्नु पर्नेमा जोड दिनु भयो ।

पछिल्लो समय बेमौसमी वर्षाको कारण धानबालीमा क्षति पुगेको हुँदा नगरपालिका भित्रका कृषकहरूको क्षतिको विवरण सङ्कलन गरी सम्बन्धित निकायमा पठाइएको उहाँले बताउनु भयो । नगरपालिकाका कृषि शाखा प्रमुख प्रताप पाण्डेले भानु नगरपालिकामा कृषिको प्रचुर सम्भावना रहेको र कृषकहरूलाई पनि अनुदानका विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो ।

बेमौसमी तरकारी खेतीमार्फत कृषकहरूलाई व्यवसायीकरण गर्ने, बाख्रापालन, भैँसीपालन र कुखुरापालन गर्ने कृषकलाई अनुदानको कार्यक्रम सञ्चालन गरिएको पाण्डेले बताउनु भयो । उहाँले एक वडा एक नर्सरी कार्यक्रम, धान प्रवर्धन कार्यक्रम, हाट बजार निर्माण, किसानको वर्गीकरण, रैथाने बाली प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो । पशुपन्छी शाखाका प्रमुख खितकुमार श्रेष्ठले उन्नत जातको पशुपन्छी पालनमा जोड दिइएको बताउनु भयो ।

प्रकाशचन्द्र भट्टराई