खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

रौतहट । २०७८ कात्तिक २८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामले खाद्य अधिकारसम्बन्धी चन्द्रपुर नगरस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । इन्सेक प्रदेश २ का प्रमुख राजु पासवानले संस्थाद्वारा सञ्चालित कार्यक्रमहरू र परियोजनाको बारेमा सहभागीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो । उहाँले खाद्य अधिकार नागरिकको मौलिक हक भएकाले सो अधिकारबाट कोही पनि वञ्चित हुन नहुने बताउनु भयो । चन्द्रपुर नगरपालिकाका कृषि शाखा अधिकृत उमेश चौधरीले चन्द्रपुर नगरपालिकाबाट खाद्य अधिकारको बारेमा विगतमा गरिएका कार्यक्रम र त्यसको प्रतिफल तथा आगामी कार्ययोजना बारे जानकारी गराउनु भयो । उहाँले नगरबाट आगामी कार्ययोजना धानबालीका लागि चैते धानको बिउबिजन वितरण कार्यक्रम, तरकारी खेती, बेमौसमी तरकारी खेतीका विभिन्न योजनाहरू, च्याउ उत्पादन पकेट कार्यक्रम, मकै खेती, कोदो खेती लगायतका कार्यक्रममा अनुदान रहेको बताउनु भयो ।

सुबलाल भागवत उमावि सन्तपुरका प्रध्यानाध्यापक देवानन्द चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, खाद्यलगायतका अधिकारबा बारेमा विद्यार्थी सचेत हुनु पर्ने बताउनु भयो । कक्षा १० की छात्रा चाँदनी रौनियारले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको तर अतिरिक्त क्रियाकलापमा ध्यान दिनुपर्ने र दिवा खाजा पौष्टिकतापूर्ण हुनुपर्नेमा जोड दिनुभयो । शिक्षक दिलिप चौधरीले सरकारले दिने १५ रुपियाँमा खाजा व्यवस्थापन गर्नुपर्दा अपुग हुने गरेको बताउनुभयो । चन्द्रपुर नगरपालिकाका सामाजिक विकास शाखा संयोजक सरस्वति खुलालले नगरभित्र तीन ओटा नमुना विद्यालय रहेकामा दिनैपिच्छे फरक खाजाको व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । खाद्य अधिकारको विषयमा नगरको नीति हुनुपर्नेमा जोड दिँदै उहाँले यस्तो नीति बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । चन्द्रपुर नगरपालिका–८ का वडाध्यक्ष पासवत चौधरीले विषादी रहित खानेकुरामा ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।

कोपिला तिमल्सिना