खाद्य अधिकार विषयक अन्तर्क्रिया सम्पन्न

सप्तरी । २०७९ जेठ २६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले बिष्णुपुर गाउँपालिकामा खाद्य अधिकार विषयक अन्तर्क्रिया कार्यक्रम जेठ २३ गते सम्पन्न गरेको छ । खाद्य अधिकारको विषयमा संविधान, कानुन, ऐन, नियमावलीमा भएको व्यवस्था र व्यवहारमा त्यसको कार्यान्वयनको अवस्थाको बारेमा शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीयवासीबीच छलफल गर्न बिष्णुपुर गाउँपालिका स्तरीय मानव अधिकार निगरानी समूहको समन्वयमा अन्तर्क्रिया कार्यक्रम गरिएको इन्सेक सहजकर्ता दिपककुमार यादवले जानकारी दिनु भयो । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले खाद्य पदार्थको गुणस्तर कायम राख्न सरोकारवाला कार्यालय, व्यावसायीका साथै उपभोक्ताको सहयोग आवश्यक रहेको बताउनु भयो । सिंहले खाद्य पदार्थ खरिद गर्दा उपभोग्य मिति हेरेर खरिद गर्ने तथा मिति समाप्त भएको र गुणस्तरमा शङ्का लागे उजुरी गर्ने बानी बसाले मात्र सुधार आउने बताउनु भयो ।

खाद्य ऐन २०२३ र नियमावली २०२७ अनुसार सर्वसाधारणले उपभोग गर्ने खाद्य पदार्थको गुणस्तर कायम गर्न खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रयासरत रहेको उहाँले जानकारी दिनु भयो । खाद्य लेबलमा सम्पूर्ण सम्मिश्रणको विवरण, उत्पादक ठेगाना, व्याच नम्बर, उत्पादन मिति, उपभोग मिति, उत्पादनको नाम, खुद र कुल तौल/आयतन स्पष्ट साथ हुनै पर्ने सिंहले जानकारी दिनु भयो । उहाँले होटल रेष्टुरेन्ट लगायतका खाद्य व्यवसायीहरुले पूरा गर्नुपर्ने न्युनतम कार्यहरुबारे समेत जानकारी दिनु भयो । कार्यक्रमका अध्यक्ष मानव अधिकार निगरानी समूहका सचिव अनिलकुमार साहले बजारको नियमित अनुमगन र आवश्यक कारवाही नहुँदा गुणस्तरहिन खाद्य पदार्थ उपभोग गर्न सेवाग्राही बाध्य हुनुपरेको बताउनु भयो । रुद्रनारायण मावि गोरगमाका शिक्षक अर्जुनकुमार यादवले खाद्य पदार्थको गुणस्तर कायम राख्न गठित सरोकारवाला निकायको उदासिनता र व्यापारीहरुको मनोमानीका कारण गुणस्तरीय खाद्य सामाग्री उपभोगको अधिकार प्रभावकारी हुन नसकेको बताउनु भयो । विद्यालयको आसपास बिक्री गरिने चटपटे, नास्ताका कारण विद्यार्थीहरु विरामी पर्ने गरेको र विद्यालयमै शुद्ध खानेपानीको अभाव रहेको अभिभावक पुनितादेवी रायले बताउनु भयो ।

मनोहरकुमार पोखरेल