खाद्य अधिकार सवालमामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रामेछाप । २०७७ फागुन १४ गते

मन्थली नगरपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ फागुन १४ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा कृषि ज्ञान केन्द्र रामेछापका शाखा अधिकृत ऋषिराज सुवेदीले खाद्य प्रवर्धनका लागि कृषि ज्ञान केन्द्रबाट सञ्चालन भएका कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले कृषिका अनुदानको दुरुपयोग हुन नदिनको लागि अनुगमनलाई प्रभावकारी बनाउने प्रतिवद्धता  समेत व्यक्त गर्नुभयो । मन्थली नगरपालिका पशु सेवा शाखाका प्रमुख मुकुन्द खड्काले पशु सेवा केन्द्रले प्रवाह गरिरहेको सेवाका बारेमा जानकारी गराउँदै केन्द्रमा भर्खरै प्राविधिक थपिएकाले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने बताउनुभयो ।

उहाँले मन्थली नगरपालिकाले नगरपालिका भित्रका दुध उत्पादक किसानलाई नगरपालिकाले प्रति लिटर दुधमा दुई रुपैँया अनुदान दिने गरेको जानकारी दिनुभयो । मन्थली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख केशव फुयाँलले नगरपालिकाले स्वास्थ्य सुरक्षाका लागि गरेको काम बारे जानकारी दिनुभएको थियो । उहाँले कोभिड–१९ विरुद्धको खोप अभियान बारे जानकारी दिँदै कोभिड विरुद्धको खोप लगाएका अधिकांश व्यक्तिमा सामान्य खालका असर देखिए पनि हालसम्म जटिल प्रकृतिका असर रामेछापमा नदेखिएको बताउनुभयो ।

सरकारले यही फागुन २३ गतेदेखि तेस्रो चरणको खोप अभियान सञ्चालन गरी ५५ वर्ष भन्दा माथिकालाई कोभिड विरुद्धको खोप लगाउने तयारी गरे अनुरुप रामेछापमा पनि वडा तहबाटै खोप लगाउने व्यवस्था मिलाइने बताउनुभयो । जिल्ला सदरमुकाम मन्थलीमा बन्द रहेको शल्यक्रिया सहितको प्रसुति सेवा आगामी चैत महिनाबाट नियमित सञ्चालन हुने पनि उहाँले जानकारी दिनुभयो ।

मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूले प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा हाल बन्द रहेको अप्रेशन सहितको प्रसुति सेवा सञ्चालन गर्नुपर्ने, स्वास्थ्य बिमा गर्नेलाई प्राथमिक स्वास्थ्य केन्द्रबाटै औषधी सेवा प्रदान गर्नुपर्ने, मन्थली नगरपालिका अन्तरगत स्वास्थ्य र पशु शाखाको सेवालाई थप प्रभावकारी बाउनुपर्ने, मन्थली नगरपालिकाका डेरीमा दुध बिक्री गर्ने मन्थली बाहिरका कृषकलाई पनि दुधमा अनुदान दिन नीतिगत व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए ।

नबराज पथिक