








सिरहा । २०७९ जेठ २८ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा खाद्य अधिकार विषयक अन्तर्क्रिया कार्यक्रम बिष्णुपुर गाउँपालिकामा जेठ २४ गते सम्पन्न गरिएको छ । कार्यक्रमा बिष्णुपुर गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष रामबाबू यादवले इन्सेकले सञ्चालन गरेको कार्यक्रम समुदायलाई सचेत पार्ने काम र हामीलाई जिम्मेबार बनाउने भएकोले हामी सचेत भई काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । कृषि उत्पादनमा विभिन्न किसिमको समस्याहरु रहेको वडा अध्यक्ष यादवले उल्लेख गर्नु हुँदै स्थानीय तह निर्वाचनबाट निर्वाचित भइ आएकाले कार्यपालिकाको बैठक बसेर नागरिकको शिक्षा, स्वास्थ्य, आवास तथा खाद्यको समस्याहरु सम्बोधन गर्ने गरी योजना बनाइ समाधान गर्दै लैजाने बताउनु भयो । स्थानीय बालेश्वर यादवले बातावरणको प्रभावले कृषि उत्पादनमा समस्या भएको बताउनु भयो । गाउँपालिकामा कृषि प्राविधिकहरु नहुँदा समस्या भइरहेकोले कृषि प्राविधिकहरु नियूक्ति गरी टोल टोलमा गई समस्या समाधान गर्नु पर्ने र उत्पादन भएको सामाग्रीहरुलाई संकलन गरी उचित मूल्य किसानहरुलाई दिनु पर्ने बताउनु भयो ।
स्थानीय उपेन्द्र ठाकुरले प्रयाप्त मल बिउँ समयमा उपलब्ध नहुँदा खेती गर्न समस्या भइ उत्पादनमा कमी हुने र लगानी पनि नउठ्ने गरेको बताउनु भयो । इन्सेक मधेस प्रदेशको आयोजनामा स्वास्थ्य अधिकारबारे सरोकारवालाहरुबिच अन्तरक्रिया कार्यक्रम सखुवानन्कारकट्टी गाउँपालिकामा जेठ २४ गते सम्पन्न गरिएको छ । कार्यक्रमा इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले स्वास्थ्यको अधिकारको प्रत्याभूति गराउनु स्थानीय तहको जिम्मेवारी भएको बताउनु भयो । स्वास्थ्यचौकीबाट प्राप्त हुने सेवाहरु र निःशुल्क पाउनु पर्ने औषधिहरुको सूची सहितको नागरिक वडापत्र स्वास्थ्यचौकीमा राख्नु पर्ने बताउनु भयो । गाउँपालिकाले समयमा निर्देशन दिएर समयमा औषधि खरिद गरी स्वास्थ्य चौकीहरुमा उपलब्ध गराउनु पर्नेमा इन्सेक मधेस प्रदेश संयोजक पासवानले जोड दिनु भयो । सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष तनुकलाल यादवले स्वास्थ्य संस्थामा सुधारको लागि सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । राम्रो गर्ने स्वास्थ्यकर्मीलाई सम्मान गर्नु पर्ने र तत्काल स्वास्थ्य समितिले अनुगमन गरी सुझाव दिनु पर्नेमा जोड दिनु भयो । स्वास्थ्य चौकी सोठियाइनका प्रमुख मदन महतोले साउनमा खरिद गर्ने औषधि स्थानीय तहले फागुनमा खरिद गर्दा औषधि अभाव हुने गरेको बताउनु भयो ।
दुर्गा परियार