खानेपानीको चरम अभाव न्यूनीकरणको लागि ध्यानाकर्षण

कालीकोट । २०७७ मङ्सिर २५ गते

खाँडाचक्र नगरपालिका– १ मान्म बजारमा खानेपानीको चरम अभाव भएको भन्दै मानव अधिकार समूहले नगरपालिकालाई मङ्सिर २४ गते ध्यानाकर्षण गराएको छ । मान्म बजारमा पटक पटक खाने पानीको संकट पर्ने गरेको भन्दै इन्सेकद्वारा खाँडाचक्र नगरपालिकामा गठित मानव अधिकार समूहले नगर उपप्रमुख विजया विष्टलाई ध्यानाकर्ष पत्र बुझाएको हो ।

मानव अधिकार समूहका सचिव कपुरे विक, कोषाध्यक्ष सविना विक, सदस्यहरू तुलाराज पाण्डे, जनक मल्ल, पत्रकार डिल्ली चौलागाई लगायतले हस्ताक्षर रहेको पत्रमा बजार क्षेत्रमा ०७७ मङ्सिरको पहिलो हप्तादेखि चरम खाने पानीको अभाव भएको हुनाले नगर कार्यपालिकाको ध्यानाकर्षण गराउँदै तत्काल समस्या समाधानका लागि अनुरोध गरिएको छ । ध्यानाकर्षण पत्र बुझ्दै नगर उपप्रमुख विष्टले सदरमुकामको खानेपानी तथा सरसफाइका लागि आफू निरन्तर लागि रहेको र तत्कालको समस्या समाधान गर्न नगर प्रमुखसँग गम्भिरताका साथ छलफल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कालीबहादुर मल्ल