गण्डकी प्रदेशमा मानव अधिकार वर्ष पुस्तकको वार्षिक सम्पादन भेला सम्पन्न
कास्की । २०७७ पुस २२ गते
अनौपचारिक क्षेत्र सेवा (इन्सेक)गण्डकी प्रदेशको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को सम्पादन भेला सम्पन्न भएको छ । पुस २१ र २२ गते गरिएको वार्षिक सम्पादन भेलामा प्रदेशका ११ ओटै जिल्लाबाट नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि सन् २०२० जनवरीदेखि डिसेम्बरसम्म सङ्लग्न गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको सम्पादन गरियो । कार्यक्रममा इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले कोभिड–१९ को महामारीका बिचमा पनि जिल्ला प्रतिनिधिहरुले घटना सङ्कलन र अभिलेखिकरणलाई प्रभावकारी ढङ्गबाट गर्नुभएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले बदलिदो राजनितिक परिवेशमा जिल्ला प्रतिनिधिहरुलाई नागरिक सङ्घसंस्था र मानव अधिकारकर्मीको समन्वयमा रहेर घटनाक्रमको अनुगमन गर्न आग्रह गर्नुभयो । इन्सेकले तयार गरेको एपले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको अभिलेखिकरणलाई प्रभावकारी बनाउन मद्दत पुगेको उहाँको भनाइ थियो । कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका अधिकृत गोविन्द त्रिपाठीले मानव अधिकार वर्ष पुस्तकलाई तथ्यपरक बनाउन जोड दिनुभयो ।
इन्सेक केन्द्रिय कार्यलयका अनुज केसीले इन्सेकले आगामी वर्षदेखिपूर्ण रुपमा अनलाइन प्रविधिबाट नेपाल मानवअधिकार वर्ष पुस्तकको अभिलेखिकरण गर्ने गरी अगाडि बढिरहेकोे जानकारी दिनुभयो । भेलामा गण्डकी प्रदेशका ११ ओटा जिल्लाका प्रतिनिधिले जिल्लामा घटेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना बारे प्रस्तुतिकरण गरेका थिए ।
सुशन घिमिरे