गाउँपालिकाकाे नीति तथा कार्यक्रममा मानव अधिकारलाई सम्बोधन गर्न माग
तनहुँ । २०८० असार ७ गते
आवुँखैरेनी गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मानव अधिकार संरक्षण र सम्बर्द्धनको कार्यक्रमलाई सम्बोधन गर्न माग गरिएको छ । तनहुँ इन्सेक जिल्ला प्रतिनिधिले गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मानव अधिकार संरक्षण र सम्बर्द्धनको कार्यक्रमलाई सम्बोधन गर्न र नीति तथा कार्यक्रम मानव अधिकार मैत्री बनाउन माग गर्दै ०८० असार ६ गते गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मालाई ज्ञापनपत्र बुझाउनुभएको थियो ।
ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत शर्माले गाउँपालिकाको आगामी वर्षको कार्यक्रममा मानव अधिकारको विषयलाई सम्बोधन गरिने प्रतिबद्धता जनाउनु भयो । शर्माले आगामी आर्थिक वर्षमा गाउँपालिकामा मानव अधिकार संरक्षण र सम्बर्द्धनको कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गर्न आफुले पहल गर्ने बताउनु भयो । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूकोलागि मानव अधिकार सम्बन्धी तालिम तथा मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनको लागि विभिन्न कार्यक्रमहरू गरिने गरि नीति बनाइने प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनु भयो ।
प्रकाशचन्द्र भट्टराई