गाउँपालिकालाई मानव अधिकार समूहद्वारा ज्ञापनपत्र
सुनसरी । २०७९ जेठ २४ गते
शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसहित संविधान प्रदत्त मौलिक हकको कार्यान्वयन र सोही अनुसारका कार्यक्रम बजेटमा समेट्न माग गर्दै मानव अधिकार समूह भोक्राहा नगरसिंहले भोक्राहा नरसिंह गाउँपालिकामा जेठ २४ गते ज्ञापनपत्र बुझाएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इन्सेक परियोजनाका लागि गाउँपालिका ०७६ कात्तिकमा गठन गरिएको मानव अधिकार समूहले गाउँपालिकाले आर्थिक वर्ष ०७९-८० का लागि निर्माण गर्ने बजेटमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवाल समेट्न माग गरी ज्ञापनपत्र बुझाएको मानव अधिकार समूहका अध्यक्ष नुनुलाल साहले बताउनु भयो । भोक्राहा नरसिंहगाउँपालिका–१ देखि ८ नम्बर वडासम्मका प्रत्येक वडाबाट प्रतिनिधित्व हुने गरी जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तरगत शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवाललाई समेटी ज्ञापनपत्र बुझाइएको छ ।
भोक्राहा नरसिंह गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको अवस्था बारेमा अनुगमन गरी सेवाग्राहीसँगको भेटघाट, अन्तरवार्ता र समूहको आयोजनामा सम्पन्न गरिएको वडास्तरीय गोष्ठी कार्यक्रममा आएका सवालहरूलाई आर्थिक वर्ष ०७९।०८० को बार्षिक बजेट, नीति तथा कार्यक्रममा सम्बोधनका लागि ज्ञापनपत्र बुझाएको मानव अधिकार समूहका अध्यक्ष नुनुलाल साहले बताउनु भयो । सुकुम्बासी विपन्न, दलित समुदायको आवासको अधिकार अन्तरर्गत तथ्याङ्क सङ्कलन गर्नुपर्ने, आवास अधिकार सुनिश्चित गर्नुपर्ने, नरसिंह स्वास्थ्य चौकीमा सञ्चालन गरिएको प्रसूती गृहलाई थप प्रभावकारी र नियमित बनाउनुपर्ने, सिजनमा कृषकहरूलाई रासायनिक मल, उन्नत जात बिउविजन उपलब्ध गराउन पहल गनुपर्ने, माटो सुहाउँदो बालीका लागि माटो परीक्षण शिविर सञ्चालन गर्नुपर्ने, शिक्षामा गुणस्तरीयताका लागि विद्यालयमा विषयगत शिक्षकको थप व्यवस्था गर्नुपर्ने, कृषि, पशु, शिक्षा र स्वास्थ्यमा अनुगमन गरी अनुशासित, नियमितता, जवाफदेहिता र जिम्मेबारीप्रति उत्तरदायी भएकाहरु मध्ये उतकृष्टलाई सम्मान गर्नुपर्ने सुझाव ज्ञापनपत्रमा समेटिएको छ ।
जयकृष्ण यादव