गाउँपालिकाले स्वास्थको क्षेत्रमा विशेष ध्यान दिन आग्रह

मकवानपुर । २०७८ असार ३० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय, हेटौँडाको आयोजना तथा डब्लुपीडी नेपालको सहकार्यमा असार ३० गते मनहरी गाउँपालिकामा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरूले गाउँपालिकाले स्वास्थमा विशेष ध्यान दिन आग्रह गरेका छन् । कार्यक्रम मानव अधिकार समूह मनहरीका अध्यक्ष बिमला गोपालीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको बारेमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयका प्रमुख कृष्ण गौतमले जानकारी गराउनु भएको थियो ।  कार्यक्रमका सहभागीहरूले गाउँपालिकाले भौतिक विकाससँगै मानिसको सबैभन्दा ठूलो आवश्यकता स्वास्थको क्षेत्रमा विशेष चासो दिनुपर्ने बताएका छन् । गाउँपालिकामा सञ्चालित स्वास्थ चौकीहरूमा पर्याप्त औषधी नहुँदा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था भएको स्थानीय सिर्जना बिडारीले भन्नुभयो । वर्षाको समयमा सर्प विच्छी जस्ता जीवहरू बढि आउने समस्या छ, सर्पले टोकेर लगेको मान्छे पाँच दिनदेखि अस्पतालमा छन् । गाउँपालिकाले यस्तो समयमा सर्पदंशको औषधी तत्काल ल्याउनेतर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो । यसैगरी स्थानीय राजकुमार ढकालले सर्पदंश विरुद्धको सुईसँगै रेबिजकोसुई पनि मनहरी अस्पताल र स्वास्थ्य चौकीमा राख्नका लागि जोेडदार माग गर्नुभयो । सर्पदंश र रेबिजविरुद्धको सुईको सबाल उठिसकेपछि मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले मनहरी अस्पतालमा त्यसको व्यवस्थापन गर्न सकिने भन्दै अब हुने कार्यपालिका बैठकमा विषय प्रवेश गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा नं ७ मा हिंसाबाट पीडित व्यक्तिले न्यायका लागि वडास्थित मेलमिलाप समितिमा निवेदन दिए पनि समयमै सम्बोधन नहुँदा पीडा सहेर बस्न बाध्य भएको र दुईमहिनापछि मात्र न्यायिक समितिमा पुगेपछि न्याय पाएको सन्दर्भ उठान गर्नुभयो । यस्तै वडा नं ३ को कार्यालयमा अपाङ्गता परिचय पत्र बनाउन कर्मचारीहरूले उचित सहजीकरण नगरिदिँदा एक महिना धाउनुपरेको प्रसङ्ग उठाउनु भएको थियो । कार्यक्रममा सहभागीहरूले विद्यालयका शिक्षकहरू विद्यालय सञ्चालन हुँदासमेत ११ बजेसम्म विद्यालय पुग्ने नगरेको, विद्यालयको अभिभावक भेलाको अभिभावकलाई थाह नभएको, विद्यालयका शौचालयमा गुट्खा र परागका खोल भेटिने खालका गतिविधि विद्यालयमा देखिनु गलत भएको भन्दै गाउँपालिकाले निगरानी बढाउनुपर्नेमा जोड दिएका छन् । पशुपति माध्यामिक विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले विद्यालय समयको कडाइका साथ लागु गरिरहेको बताउनुभयो । यस्तै ‘डिजिटल हाजिरीको व्यवस्थापन चुस्त दुरुस्त गर्नुपर्ने भन्दै उहाँले अनलाइन माध्यमबाट गाउँपालिकाबाटै केही विद्यालयको अनुगमन गर्नुपर्ने धारणा राख्नु भएको थियो । गाउँपालिकाले समूह र सहकारीमार्फत बिऊ वितरण गर्ने कार्य प्रभावकारी नभएको र २०७४ साल ताकाकै ‘पातमा बीऊ बाँड्ने चलन’ ले निरन्तरता पाएको, समूहका नाउँबाट गाउँपालिका तथा अन्य निकायहरूबाट कृषि यन्त्र पाएकाहरूले एकलौटी व्यवसाय गर्नेगरेको र समूहलाई समेत चर्काे शुल्क लिएर कुटानी पिसानी गरिरहेको प्रसङ्ग पनि उठेको थियो ।

गाउँपालिकाभित्र अनुदानको गाई वितरणमा पनि पारदर्शिता नरहेको र वितरित गाईको दूध सङ्कलन लगायत व्यापारिक प्रयोजनको अनुगमन गर्ने संयन्त्र नभएको भन्दै सहभागीहरूले समूह र सहकारीमा नरहेका व्यक्तिहरूले अनुदान र सहुलियत नपाएको गुनासो गरेका छन् । उठेका सबालहरूको जबाफ दिँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले कर्मचारीका सम्बन्धमा उठेका सबालबारे आफूले तत्कालै एक्सन लिने बताउनुभयो । उपाध्यक्ष मनिला बिष्टले राम्रा सुझावहरू प्राप्त भएको भन्दै आगामी दिनमा काम गर्नका लागि सार्बजनिक सुनुवाईमा उठेका सबालहरूले मार्ग निर्देशन गरेको बताउनुभयो । उहाँले नागरिक समाजले स्थानीय तहलाई सचेत पारिरहनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उठेका सबालहरूबारे कृषि प्राविधिक उज्वल रानामगर, पशु प्राविधिक बरुण ठाकुर, स्वास्थ्य संयोजक टीकाराम अधिकारी, शिक्षा संयोजक हरिचन्द्र सापकोटा लगायतले पनि प्रष्ट पार्नु भएको थियो ।

पुष्पराज अधिकारी