गाउँपालिका स्तरीय मानवअधिकार प्रवर्द्धन कार्यक्रम सम्पन्न

कास्की । २०८१ जेठ १ गते

माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा मानवअधिकार प्रवर्द्धन  सम्बन्धि दुई दिनको तालिम वैशाख २८ र २९ गते सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिका स्तरीय महिला सञ्जाल, दलित सञ्जाल, जेष्ठ नागरिक सञ्जाल, अपाङ्गता सञ्जाल, बाल सञ्जाल, मेलमिलापकर्ता, मानवअधिकार समूहको अध्यक्ष र अन्य सदस्यहरुको सहभागीता रहेको थियो । गाँउपालिकका अध्यक्ष मिनबहादुर गुरुङ्गले पालिकामा धेरै मानवअधिकार उल्लंघनका घटनाहरु घटेकोले सबै सचेत रहनु पर्छ भनेर उक्त कार्यक्रमको आयोजना गरेको जानकारी गराउनु भयो । गाउँपालिकाको उपाध्यक्ष सिता अधिकारीले मानवअधिकार प्रवर्द्धन  कार्यक्रममा गाउँपालिकाले सबै सञ्जालहरुलाई समेटेर कार्यक्रम गरेकोले उपलब्धिमुलक रहेको जानकारी गराउनु भयो । उहाँले मानवअधिकार प्रवर्द्धन  कार्यक्रम गरेको गाँउपालिकाहरु मध्ये नै पहिलो कार्यक्रम रहेको समेत उल्लेख गर्नुभयो । उहाँले मानवअधिकार प्रवर्द्धन  कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिने बारेमा प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा अपाङ्ग सञ्जालकी सदस्य सारदा आचार्यले सरकारले प्रदान गर्ने गरेको सामाजिक सुरक्षा भत्ता असक्त अपाङ्ग तथा जेष्ठ नागरिकले प्रयोग गर्न नपाएको र यसको लागि स्थानीय सरकारले पहल गर्नु पर्ने भनाई राख्नु भएको थियो । महिला सञ्जालकी अध्यक्ष कल्पना अधिकारीले यस कार्यक्रमबाट आफुले बालबालिका तथा महिलाहरु कहाँ कहाँ हिंसामा पर्न सक्छन् र अधिकार र कर्तव्यको महत्वको बारेमा अझै स्पष्ट हुने अवसर प्राप्त गरेको बताउनु भयो ।

बाल अधिकार सञ्जालको उपाध्यक्ष रोजनी गौतमले तालिमबाट बालबालिकाहरु कसरी हिंसामा पर्छन् र त्यसबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा ज्ञान भएको, नेतृत्वको गुणहरुको बारेमा पनि जानकारी भएको, बालबालिकामाथिको हिंसा र कानुनको बारेमा समेत जानकार भएको बताउनुभयो । दलित सञ्जालको अध्यक्ष काजीमान बोहोराले छुवाछुतको बारेमा बोलेर मात्र नभएर अभियानको रुपमा लैजानु पर्नेमा जोड दिनु भयो । उहाँले सिकेका कुराहरुलाई व्यवहारमा पनि ल्याउनको लागि आफैंबाट सुरु गर्नुपर्ने बताउनुभयो । इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिवप्रसाद खकुरेलले मानवअधिकारको परिभाषा, संरक्षण र स्थानीय सरकारको भूमिका, बालअधिकार, सुशासन र मानवअधिकार, जनवकालत र मानवअधिकार विकास पद्धतिका बारेमा प्रशिक्षण दिनु भएको थियो । । साथै उहाँले यस तालिमबाट सहभागीहरुमा ज्ञान, सिप र धारणामा परिवर्तन ल्याउने र अझ सक्षम बनाउने बताउनुभयो । साथै उहाँले मानवअधिकारको कुरा गर्दा आफ्नो कर्तव्यलाई समेत भुल्न नहुने बारेमा जानकारी गराउनु भयो । त्यसै गरि कार्यक्रम अधिकृत सबनम शर्माले महिला अधिकार र सिड, नेतृत्व र नेतृत्वका गुणहरु, महिला हिंसा र कानुनी व्यवस्थाको बारेमा प्रशिक्षण गर्नु भएको थियो । साथै कार्यक्रममा कास्की जिल्ला सहजकर्ता शुष्मा आचार्य अधिकारीले बाल यौन दुर्व्यवहार र हिंसाको विषयमा सहजीकरण गर्नुभएको थियो ।

इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा