घरदैलोका सरकारले महिलाको बजेट घटाए : नागरिक समाज
दैलेख । २०८० फागुन २५ गते
सङ्घीय संरचनापछि बनेका घरदैलोका स्थानीय सरकारले विकासको मूलधारबाट पछि पारिएका नागरिकहरुलाई लाभ पुग्ने बजेट र कार्यक्रमहरु कटौती गरिएको, जनप्रतिनिधिहरुले आफन्त र कार्यकर्ता पोख्ने काम गरेको भन्दै सरोकारवालाहरुले असन्तुष्टी व्यक्त गरेका छन् । ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोसेक नेपालको बालिका सशक्तिकरण परियोजनाको सहयोगमा इन्सेकले फागुन २५ गते दैलेखमा आयोजना गरेको ‘लैंगिक हिंसाको अन्त्य र महिलामा लगानी’ रेडियो सम्वाद कार्यक्रममा नागरिक समाजका अगुवाहरुले त्यस्तो असन्तुष्टी जनाएका हुन् । मानव अधिकार रक्षक सञ्जालका संयोजक पत्रकार विशाल सुनारले भन्नु भयो ‘२०६४–२०७४ सम्म महिलाका क्षेत्रमा १५ प्रतिशत बजेट विनियोजन नगरेको स्थानीय निकायको न्यूनतम शर्त मापनमा असफल मानिन्थ्यो, अनिवार्य १५ प्रतिशत बजेट छुट्टयाइन्थ्यो । लक्षित कार्यक्रमले थुप्रै रचनात्मक काम भएका थिए ।’
घरदैलोको सरकारले पहिले भन्दा धेरै सेवा र सुविधा दिन सकोस् भनेर स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई बजेट बनाउन स्वायत्तता दिइएको हो । महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्तिलाई यसरी बेवास्ता गरिएला भनेर स्वायत्तता दिइएको होइन पत्रकार सुनारले टिप्पणी गर्नुभयो । अधिकारकर्मी रिना पोखरेले आफैले जिताएका जनप्रतिनिधिहरु पनि हामी जस्ता एकल महिला र पछि पारिएका व्यक्तिहरुका लागि कुनै कार्यक्रम वा गतिविधि नगरेको अवस्थाले आफूहरुलाई अचम्मित भएको बताउनुभयो, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने कार्यक्रमै फितला हुने गरेको दुखेसो पोख्नुभयो ।
एमाले निकट अनेमसंघका जिल्ला सचिव सीता शाहीले सङ्घीय संरचनापछि पहुचवालाहरुले श्रोतमा कब्जा जमाएको साधारण महिलाहरु ठगिएका टिप्पणी गर्नुभयो । काँग्रेसको महिला भातृसंगठन नेपाल पहिला संघका कार्यवाहक जिल्ला सभापति दुर्गा श्रेष्ठले लक्षित वर्गमा पनि महिलामा विपन्न महिला, दलितमा अति गरिबलाई अवसर दिन नसके मात्र सामाजिक न्याय हुने धारणा राख्नुभयो । सोसेक नेपालको बालिका सशक्तिकरण परियोजनाका जिल्ला संयोजक शशीकला पाण्डेयले दैलेखमा महिला माथि हुने घरेलु हिंसा, छाउपडीप्रथा, बालविवाह मुख्य समस्याहरु रहेको औल्याउनुभयो । कार्यक्रममा महिला तथा बालबालिका सेवा केन्द्रका कार्यक्रम संयोजक रमा श्रेष्ठले हिंसा पीडित महिलालाई सहयोग गर्दा समाजले असहयोग गरेको र मुद्दा गर्न उक्साएको आरोप लाग्ने गरेको समस्या दर्शाउनुभयो ।
उठेका प्रश्नको जवाफ दिंदै नारायण नगरपालिकाका उपमेयर तप्ताकुमारी थापाले महिला तथा बालबालिका क्षेत्रमा नगरपालिकाले लगानी धेरै गरेको छ, जनअपेक्षा जति गर्न नसकेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो ‘साधन श्रोत घट्दो क्रममा छ, तर पनि सुझाव अनुसार बजेट बढाउने प्रतिवद्धता जनाउँदछु ।’ ‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’ यो वर्षको नाराको मर्म अनुरुप महिला क्षेत्रमा राज्यले लगानी बढाउदै लैजानुपर्ने तर्फ तीनै तहका सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएको रेडियो सम्वाद कार्यक्रम दैलेखका चार आटै एफएम रेडियो ज्वाला, रेडियो मातृभूमि, रेडियो धुब्रतारा र रेडियो हाम्रो समावेशीले विहान सवा ८ देखि सवा १० बजेसम्म प्रत्यक्ष प्रसारण गरेका थिए ।
अमर सुनार