








डोल्पा । २०७७ पुस १ गते
शे फोक्सुण्डो गाउँपालिका–४ भिजेरकी ४० वर्षीया छेवाङ लामाले ०७७ मङ्सिर २० गते पतिले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिनुभएको छ । पतिले बिना कारण मदिरा सेवन गरेर कुटपिट गरेको भन्दै चार दिनको पैदल हिडेर सदरमुकाम दुनै पुग्नु भएकी लामाले मङ्सिर ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्सेक प्रतिनिधिलाई बताउनुभयो । कुटपिटबाट दायाँ आँखा, टाउको र बाँया खुट्टामा गहिरो चोट लागेको र गाउँकै स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेको पीडितको भनाई छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी राजु पाण्डेले आरोपित रहेको गाउँ पुग्न चार दिन लाग्ने भएकोले गिरफ्तार गर्न असम्भव भएकोले सम्बन्धित वडाका अध्यक्षलाई खवर गरिएको जानकारी दिनुभयो । उपल्लो डोल्पामा रहेका प्रहरी चौकीहरू जाडो बढेसँगै खाली गरिएकाले सुरक्षामा समस्या आएको शे फोक्सुण्डो–८ का अध्यक्ष निमा लामाले बताउनु भयो ।
विष्णुप्रसाद देवकोटा