








सुर्खेत । २०८० जेठ १३ गते
बराहताल गाउँपालिका–७ लामाखालीमा छाउपडी प्रथा विरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ । इन्सेकद्वारा गठित श्री प्रगतिशील सुर्यज्योती बाल अधिकार समूहको आयोजनामा तथा बराहताल मानव अधिकार समूह र श्री सुर्यज्योती माध्यमिक विद्यालयको समन्वयमा जेठ १२ गते छाउपडी प्रथा विरुद्ध सडक नाटक प्रदर्शन गरिएको थियो । नाटकमा समाजमा रहेको रुढीवादी पराम्परा छाउपडी प्रथाको विरुद्ध र शिक्षा तथा स्वास्थ्य लगायतका विषय समेटेको थियो । नाटकमा बोल्दै बराहताल गाउँपालिकाका कार्यपालिका सदस्य यज्ञ बहादुर बिकले छाउपडी प्रथा हाम्रै आमा दिदी बहिनीले भोग्दै आएको समस्या हो,यसलाई हामीले आजै देखि अन्त्य गर्नु पर्छ । महिनावारी हुँदा छाउगोठमा राख्दा धेरै महिलाले अकालमा ज्यान गुमाउनु परेको छ । म कार्यपालिका सदस्य भएको नाताले आफ्नो ठाउँमा यसको अन्त्य गर्नका लागि मैले गर्नु पर्ने काम गर्न तयार भएको प्रतिबद्धता जनाउनु भएको छ ।
यस्तै गरी, वडा सदस्य अमृता बिक ले छाउपडी प्रथा भनेको एक गलत प्रथा हो । यसलाई हामीले अन्त्य गर्नुपर्छ यसका लागि एक जनाले मात्र अभियान चलाएर हुदैन यसका लागि सबै लाग्नु पर्ने र यसको अन्त्यका लागि भित्रि मन देखि नै आयो भने यसको अन्त्य सम्भव रहेको बताउनु भयो । यस्ता जनचेतनामूलक कार्यक्रम टोल टोलमा पनि गर्नु पर्ने बताउनु भयो । यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्र केसीले सडक नाटक गर्न सहयोग गर्नुहुने संस्था प्रति धन्यवाद गर्दै हाम्रो समाजमा छाउपडी प्रथाले अझै जरा गाडेको छ । यसका लागि यस्तै विभिन्न किसिमका सचेतना कार्यक्रम गर्न जरुरी भएको बताउनु भयो । सडक नाटकमा स्थानीय , शिक्षक र विद्यार्थीहरूको सहभागीता रहेको थियो ।
इन्सेक कर्णाली प्रदेश कार्यालय , सुर्खेत