जनकपुरधाममा मिडिया साझेदारी बैठक सम्पन्न

धनुषा । २०७८ मङ्सिर २४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनकपुरधाममा मानव अधिकार अवस्था विषयक मिडिया साझेदारी बैठक गरेको छ । इन्सेक प्रदेश २ का प्रमुख राजु पासवानले मिडिया साझेदारी बैठकमा प्रदेश २ मा ६ महिनाको अवधिमा ३ सय ९१ ओटा मानव अधिकार उल्लङ्घनका घटना अभिलेख गरेको बताउनु भयो । जसमध्ये २ सय ५७ जना महिला पीडित र १ सय ३४ जना पुरुष पीडित भएको इन्सेक उहाँले तथ्याङ्क प्रस्तुत गर्नु भयो । २०२१ जनवरीदेखि जुनसम्ममा महिला हिंसाका घटनाहरू बढी भएको पाइएको इन्सेकले जनाएको छ । प्रदेश २ मा बालविवाह, यौन दुर्व्यवहार, बलात्कारलगायतका घटनामा ९५ जना पीडित भएको इन्सेक प्रदेश २ ले जनाएको छ । घरेलु हिंसा, बलात्कार, महिला हिंसा, बलात्कार प्रयासलगायतको घटनामा १ सय २५ जना महिला पीडित भएको तथ्याङ्कमा उल्लेख छ ।

मिडिया साझेदारी बैठकमा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का प्रमुख विरबहादुर बुढा मगरले द्वन्द्वकालीन समयमा मानव अधिकारकर्मी र पत्रकारहरूको कारण सयौँ जनाको ज्यान बचेको स्मरण गर्नु भयो । उहाँले वास्तविक पीडित र घटनामा निर्दोष व्यक्ति नपर्ने गरी मानव अधिकारकर्मी र सञ्चारकर्मीले कलम चलाउनुपर्नेमा जोड दिनु भयो ।

उहाँले हामी मानसिक रूपमा स्वस्थ्य रहन सकेको खण्डमा मात्रै सभ्य समाजको परिकल्पना गर्न सक्ने बताउनु भयो । प्रमुख मगरले पीडितहरूको न्यायको लागि काम गर्नु चुनौतीपूर्ण काम भएको बताउनु भयो । उहाँले शक्तिशाली व्यक्तिले कमजोर व्यक्तिलाई हिंसा गर्ने र सक्दो घटना दवाउन लागि पर्ने भएकाले यसको विरुद्धमा मानव अधिकारकर्मीहरूले आवाज उठाउँदा सुरक्षा खतरा रहने गरेको बताउनुभयो ।

मानव अधिकार रक्षकहरूलाई कुनै सुरक्षा खतरा भएको खण्डमा राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षा दिलाउन र सहयोगका लागि अग्रसर रहने बताउनुभयो । नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष राजेश कर्णले प्रदेश २ मा महिला र बालबालिका बढी पीडित रहेको इन्सेकले सार्वजानिक गरेको तथ्याङ्कमा उल्लेख भएकाले यसतर्फ हामी गम्भीर हुनुपर्नेमा जोड दिनु भयो । उहाँले प्रदेश २ मा राज्य पक्षबाट समेत सर्वसाधारण नागरिकहरू प्रताडित र प्रहरी थुनामै मृत्युवरणसम्मका घटनाले मानव अधिकारको अवस्था छर्लङ्ग पारेको बताउनु भयो । उहाँले मानव अधिकारको क्षेत्रमा क्रियाशिल रहने सामाजिक सङ्घसंस्था र सञ्चारकर्मीबिच नियमित बैठक र जानकारी आदानप्रदान गर्नुपर्नेमा जोड दिनुदभयो । महिला मानव अधिकार रक्षक सञ्जाल धनुषाका अध्यक्ष अधिवक्ता रेखा झाले महिला र बालबालिकाहरूको घटनाबारे सञ्चारमाध्यममा समाचार प्रकाशन र प्रशारण गर्दा सचेत रहनुपर्ने बताउनु भयो ।

दिपेन्द्रप्रसाद सिंह