जनता आवास कार्यक्रम प्रभावकारी बनाउन माग

सुर्खेत । २०७७ असोज २५ गते

 

कर्णाली प्रदेश सरकारले अघि सारेको जनता आवास कार्यक्रम प्रभावकारी बनाउनु पर्ने एक कार्यक्रमका सहभागीहरूले माग गरेका छन् । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्र्तगत वीरेन्द्रनगरमा गठित मानव अधिकार समूहको असोज २३ गते सम्पन्न समस्या पहिचान र कार्ययोजना निमार्ण विषयक कार्यक्रमका सहभागीहरूले सो कुराको माग गरेका हुन । सहभागीहरूले प्रदेश सरकारले अघि सारेको जनता आवास कार्यक्रमको बारेमा सम्बन्धित सरोकारवालाहरू नै अनभिज्ञ रहेको चर्चा गर्दै तत्काल यसलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा लकडाउन पछिको अनलाईन कक्षा प्रभावकारी नभएको र निजी विद्यालयहरुले चैत महिना देखिकै शुल्क असुल्ने गरेपनि राज्य बेखबर रहेको समस्या पहिचान गरिएको थियो । यस्तै कोभिड बाहेकका अन्य बिरामीले सहज रुपमा उपचार पाउन नसकेको, समयमै कृषकहरूले मल तथा बीउ नपाएको र नियमित बजार अनुगमन नहुँदा कालोबजारी बढेको जस्ता समस्या पहिचान गरिएको इन्सेक सुर्खेतका सहजकर्ता बिन्दुलाल रेग्मीले बताउनुभयो । कार्यक्रम मानव अधिकार समूहका अध्यक्ष लक्ष्मी शर्माको अध्यक्षता तथा इन्सेक सुर्खेतका कार्यक्रम संयोजक दिलबहादुर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

दुर्गा थापा