जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण

नुवाकोट । २०७८ फागुन २३ गते

शिवपुरी गाउँपालिकाका जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैंगिक हिंसासम्बन्धी तालिम’ फागुन २१ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, उपाध्यक्ष मन्जु केसीसहित आठ ओटै वडाका वडाअध्ययक्ष, वडा सदस्य लगायतका जनप्रतिनिधि र गाउँपालिकाका विषयगत शाखाका प्रमुखहरूको सहभागिता तालिम ‘अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम’ (रिन्यु) परियोजना अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सञ्चालन गरेको हो । शिवपुरी गाउँपालिका वडा नं. ७ सुनखानी र वडा नं. ८ थानापतिमा डब्लुपीडी नेपालको सहयोगमा रिन्यु प्रेजेक्ट सञ्चालन भईरहेको छ ।

कार्यक्रमका सहभागीहरूलाई मानव अधिकार अधिवक्ता अच्युत आचार्यले मानवअधिकारको अवधारणा तथा महत्व, नेपालमा मानव अधिकार तथा मौलिक अधिकार सम्बन्धी कानुनी व्यवस्थाहरू तथा यसको संरक्षण तथा सम्वर्दनको राष्ट्रिय निकायहरूको भूमिका विषयमा जानकारी दिनुभएको थियो । कार्यक्रममा सहभागीहरूलाई कृष्णप्रसाद नेपालले  लैड्गिक अवधारणा,  लैड्गिक समानता कायम गर्ने सम्बन्धी राष्ट्रिय कानुनी व्यवस्थाहरू विषयमा जानकारी दिनुभएको थियो । स्वास्थ्य, शिक्षा, आवास तथा खाद्य अधिकारको संरक्षण तथा सम्बर्दनमा स्थानीय तहको भूमिका विषयमा इन्सेक केन्द्रीय कार्यालयकी व्यवस्थापन प्रमुख शुभेक्षा खड्काले जानकारी दिनु भएको थियो । कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले मानव अधिकार, कानुन, लैड्गिक विषय हामी सबैले जान्नु पर्ने विषय भएको र त्यसमा पनि हामी जनप्रतिनिधि भएको अर्थात स्थानीय सरकारमा रहेका कारण यो अधिकार नागरिकलाई सुनिश्चित गराउने जिम्मेवारी पनि हाम्रै काँधमा रहेकोले झन् धेरै जान्नु पर्ने धारणा राख्नुभयो । गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसीले मानव अधिकार र महिलाको अधिकारको विषय दैनिक पालिकासँग जोडिने विषय भएकोले पनि तालिम प्रभावकारी रहेको बताउनुभयो ।

नवदीप श्रेष्ठ