जन माविका विद्यार्थीलाई मानव अधिकार अनुशिक्षण

    ०७७ भदौ १५ गते

वीरेन्द्रनगर नपा–६ स्थित जन नमूना माध्यामिक विद्यालयका कक्षा १० का विद्यार्थीहरुलाई मानव अधिकारको आधारभुत सिद्धान्त, संस्कृति, मानव अधिकारमैत्री व्यवहार र कर्तव्य विषयक अनुशिक्षण दिइएको छ ।

इन्सेक कर्णाली प्रदेशको पारस्परिक जवाफदेहिताː मानव अधिकार सुदृढिकरण कार्यक्रम अन्तर्गत भदौ १५ गते भर्चुअल मार्फत उनीहरुलाई सो बारेमा अनुशिक्षण दिइएको हो ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी र सामाजिक शास्त्र संकायका सहायक डिन कमलेश डिसीले मानव अधिकारको आधारभुत सिद्धान्त र मानव अधिकारमैत्री व्यवहार तथा इन्सेक सुर्खेतका मानव अधिकार अधिकृत सोमप्रसाद चौधरीले सामाजीक उत्तरदायित्व तथा कर्तव्यको बारेमा सहजीकरण गर्नुभएको थियो ।

युवाहरुलाई मानव अधिकार शिक्षाको बारेमा सचेतिकरण गर्नुको साथै समुदाय, विद्यालय र घर परिवारमा मानव अधिकारमैत्री संस्कारको विकास गरी उनीहरुलाई मानव अधिकार संरक्षण सम्बद्र्धनमा समर्पित गराउने उद्देश्यले आयोजित अभिमुखीकरणमा सो माविका ४६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले बालबालिकाहरुलाई मानव अधिकार संस्कार र नागरिक नैतिकताका बारेमा सचेतिकरण गर्दै उनीहरुको कर्तव्यका बारेमा दायित्व बोध गराउन अनुशिक्षण दिइएको बताउनुभयो ।

कार्यक्रममा जनमाविका सामाजिक विषयका शिक्षक सशिधर खनालको पनि उपस्थिती रहेको थियो ।

 

दुर्गा थापा