जलवायु परिवर्तनः सीमान्तकृत समुदायमा पारेको प्रभाव र राज्यको दायित्व विषयक कार्यक्रम सम्पन्न
मकवानपुर । २०८० पुस ११ गते
चितवन सक्रिय महिला प्रतिष्ठान, मकवानपुर महिला समूह, स्वाम नेपाल, युथ अभियानको संयुक्त आयोजना र एक्सन एडको सहयोगमा ‘जलवायु परिवर्तनः सीमान्तकृत समुदायमा पारेको प्रभाव र राज्यको दायित्व’ विषयक बागतमी प्रदेश स्तरीय सम्मेलन हेटौँडामा ०८० पुस ११ गते सम्पन्न भएको छ । नेपालमा जलवायु परिवर्तनको असर तथा यसबाट परेको प्रभाव न्यूनीकरणमा राज्यले अपनाइरहेको अनुकुलनका उपाय तथा अबका दिनमा अपनाउनु पर्ने नीतिगत व्यवस्थाबारे छलफल गर्ने उद्देश्यले उक्त सम्मेलन आयोजना गरिएको हो । सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि एवम् प्रदेशसभा उप सभामुख अप्सरा चापागाईंले जलवायु परिवर्तनले गरिब र सिमान्तकृत समुदायलाई धेरै असर गरेको बताउनु भयो । उहाँले पछाडि पारिएका वर्गको कृषि उत्पादन र शिक्षा क्षेत्रमा पनि जलवायु परिवर्तनले उत्तिकै असर पारेको उल्लेख गर्नुभयो । ‘यस विषयमा राष्ट्रिय तह र अन्तराष्ट्रिय तहमा धेरै कुरा हुन्छ तर, तल्लो तहमा यसको धेरै असर परेको छ’, उहाँले भन्नुभयो ।
सम्मेलनमा जलवायु परिवर्तन र अनुकुलनको लागि भएका नीतिगत व्यवस्था र सरकारले बजेट व्यवस्थापनमा कसरी जलवायु परिवर्तन र सीमान्तकृतको सवाललाई सम्बोधन हुने गरी अनुकुलका कार्यक्रम सम्बन्धि सञ्चारमाध्यममा भइरहेका रिपोर्टिङ्गका विषयमा अनुभव साटासाट गर्ने तथा सीमान्तकृत समुदायले भोगिरहेका समस्या र पारेको प्रभावका विषयमा छ्लफल समेत भएको छ । उक्त कार्यक्रममा प्रदेश सभा सदस्य भारती पाठक, माडी नगरपालिका, चितवनका प्रमुख ताराकाजी महत्तो, सामाजिक विकास मन्त्रालयका उप सचीव खुबीराम अधिकारी, गैसस महासङ्घ प्रदेश अध्यक्ष आरती पाठक, नेपाल पत्रकार महासङ्घ, बागमती प्रदेश महासचिव कृष्ण सारु मगर, स्थानीय तहका वडा अध्यक्षहरू, इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारी, इन्सेक रसुवा जिल्ला प्रतिनिधि हेमनाथ खतिवडा, इन्सेक धादिङ जिल्ला प्रतिनिधि सहयोगी संस्था एक्सन एडका परियोजना अधिकृत कविता बस्नेत, मकवानपुर महिला समूहकी अध्यक्ष निशा लामा लगायतले जलवायु परिवर्तनले पारेको असरका बारेमा धारणा व्यक्त गर्नुभएको थियो ।
सीताराम अधिकारी