जातीय विभेदविरुद्धको राष्ट्रिय कार्यशाला सुरु

काठमाडौँ । २०७८ चैत ७ गते

५७  औँ जातीय तथा रङ्गभेदविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा इन्सेकको आयोजनामा जातीय विभेदविरुद्ध राष्ट्रिय  कार्यशाला आजदेखि काठमाडौँमा सुरु गरिएको छ । कार्यक्रममा  इन्सेककी  अध्यक्ष डा. ईन्दिरा श्रेष्ठले  सामाजिक न्याय, मानव अधिकार र जातीय विभेदका घटनामा इन्सेकले लामो समयदेखि  अभियान चलाउँदै आएको र यो कार्यशाला पनि अभियानको निरन्तरता रहेको बताउनु भयो । उहाँले दलित माथि हुने गरेका विभेद अन्त्यका लागि नेपालमा रहेका विध्यमान कानुनको अक्षरस पालना गर्नुपर्ने उल्लेख गर्नु भयो ।

  

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलितमाथि हुने विभेदको राज्यले समाजशास्त्रीय अध्ययन गरेर क्षमायाचना सहित स्वेतपत्र जारी गर्नुपर्ने  बताउनु भयो । दलित समुदायको संवेदनशीलता गैरदलित समुदायले बुझिदिने हो भने दलितमाथि हुने गरेका विभेद अन्त्य गर्न सहयोग पुग्नेमा उहाँको विश्वास छ । राज्यका निर्देशक सिद्दान्त, नीति र दायित्वको कार्यन्वयन अनुगमन तथा मुल्याङ्कन समितिकी सभापति निरादेवी जैरुले दलित पीडित भएका घटनामा राज्यले राहतमा पनि विभेद गर्ने गरेको गुनासे गर्नु भयो । जातका आधारमा आरक्षण हैन आरक्षण नचाहिने स्थानमा दलित समुदाय पुग्न राज्यले वातावरण बनाउनुपर्नेमा उहाँको जोड रहेको छ ।

इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले देशको विकासका लागि जातीय व्यवस्था बाधक रहेको बताउनु भयो  । जबसम्म सम्पतिको हकमाथि दलित समुदायको प्रत्याभूत हुन् सक्दैन तबसम्म उक्त समुदाय पछाडि परिरहने उहाँको भनाई थियो । उहाँले दुई दिने कार्यशालाबाट आउने निश्कर्षलाई अभियान र आन्दोलनका रुपमा रुपमा लिएर अगाडि बढ्नुपर्ने उल्लेख गर्नु भयो ।  दलित गैरसरकारी महासङ्घका कार्यवाहक अध्यक्ष भक्त विश्वकर्माले संविधानले र कानुनले सबै प्रकारका विभेदको अन्त्य, समानुपातिक, समावेशी व्यवस्था गरेपनि त्यस्ता कानुन व्यवाहारिक रुपमा दलित समुदायको दैनिक जीवन पद्धतिमा लागु नभएको उल्लेख गर्नु भयो । दलित समुदायको सामाजिक र आर्थिक उत्थान बिना संविधानले परिकल्पना गरेको समाजवादको यात्रा अघि बढ्न नसक्ने उहाँको भनाइ छ । 

गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रामप्रसाद सुबेदीले दलितमाथि हुने विभेद अन्त्य गर्न व्यक्ति र उसको परिवारभित्र भएका विभेद अन्त्य गर्नु पर्ने विचारराख्नु भयो  । इन्सेकका निवर्तमान अध्यक्ष सुबोधराज प्याकुरेलले सामाजिक अन्तरसम्बन्ध न्यायपूर्ण बनाउन लागेका व्यक्ति दलितसम्बन्धी  नीतिनिर्माण गर्ने ठाउँमा पुगेमात्र न्यायपूर्ण समाज निर्माणमा सहयोग पुग्ने बताउनु भयो । राजनीतिक दलबाटै दलितमाथि हुने विभेदको अन्त्य गर्ने प्रतिबद्दता आउनुपर्ने कुरा उल्लेख गर्दै उहाँले दलित समुदायलाई पछाडि पारिएमा मुलुक सम्बृद्ध बन्न नसक्ने ठोकुवा गर्नु भयो । कार्यशालामा पहिलो दिनको पहिलो सत्रमा तराई मधेशका दलित र उनीहरुको अवस्था विषयमा भोला पासवानले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । दोस्रो सत्रमा जातीय छुवाछुत अन्त्यका लागि भएका कानुनी प्रयास र कार्यन्वयनको अवस्था विषयमा इन्सेकका महासचिव रुद्रबहादुर चर्मकारले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यशालामा देशभरबाट १ सय जनाभन्दा बढी व्यक्तिको सहभागिता रहेको छ ।

विमल पौडेल