जिल्लाको मानव अधिकारको अवस्था बुझ्दै युरोपियन युनियन – इन्सेक
धनकुटा । २०७९ असोज ३१ गत
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालयको समन्वयमा जिल्लामा मानव अधिकार रक्षक र युरोपियन युनियनका प्रतिनिधिबिच असोज ३१ गते छलफल कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार अनुगमन तथा अवस्था बुझ्न आएको इयूको टोली र मानव अधिकार रक्षकबिच जिल्लामा अन्तरक्रिया सम्पन्न भएको इन्सेक प्रदेश १, प्रमुख सोमराज थापाले बताउनु भयो । छलफलमा इन्सेक र युरोपियन युनियनको टोलीले जिल्लाको मानव अधिकारको अवस्थाको विषयमा जानकारी लिएको छ । छलफलमा डेलिगेशन द युरोपियन युनियन टुु नेपालका प्रतिनिधि डा.जोइले हिभानेट र लिसा सेफ्रासिक, युरोपियन युनियनकै शिवदत्त भण्डारी तथा इन्सेक मानव अधिकार शिक्षा कार्यक्रमका विभागीय प्रमुख मदन पौडेललगायतको टोलीले जिल्लाको मानव अधिकार अवस्थाको विषयमा जानकारी लिएको छ ।
छलफलमा पारालिगल सहयोग समिति जिल्ला अध्यक्ष कोपिला शङ्करले मानव अधिकार रक्षकलाई आफैँ काम गर्न सक्ने बनाउन जिल्लामा मानव अधिकार रक्षक सशक्तिकरण कार्यक्रम हुन नसकेको बताउनु भयो । उहाँले कतिपय अवस्थामा मानव अधिकार रक्षक काम गर्ने सन्दर्भमा अन्यौलमा रहेको बताउनु भयो । महिला पुर्नस्थापना केन्द्र जिल्ला अध्यक्ष हिमा चेम्जोङले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको कारणले पीडित महिला झन् पीडित हुनु परेको बताउनु भयो । पीडित महिलाका कुरा पटकपटक सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक गर्दा तथा विगत कोट्याइदिँदा समस्या भएको उहाँको भनाइ छ । हुसाडेक नेपालकी पूर्व अध्यक्ष गीता अधिकारीले पहिले र अहिले महिलाको अधिकारमा के कस्ता उपलब्धि भए यसको तथ्याङ्क विश्लेषण गर्नुपर्ने बताउनु भयो । उहाँले महिलालाई ओझेलमा राखेर देशको विकास हुन नसक्ने बताउँदै आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार सुनिश्चित हुनु पर्नेमा जोड दिनु भयो ।
गैरसरकारी संस्था महासङ्घ धनकुटाका अध्यक्ष मिनप्रसाद अधिकारीले राजनितिक दबावका कारण धेरै पीडितहरूले न्याय पाउन नसकेको र पीडकलाई राजनीतिक दलहरूले संरक्षण गरिने अवस्था रहेको बताउनु भयो । उहाँले न्यायको पहँुचमा पुग्नलाई राजनीतिक दललाई कसरी छलेर जाने भन्ने विषयमा समस्या रहेको बताउनु भयो । सुवेदीले समानताको कुरा महिलालाई मात्र नभइ ज्येष्ठ नागरिक, बालबालिका, दलित, अपाङ्गतालगायत सिमान्तकृत समुदायलाई पनि आवश्यक रहेको बताउनु भयो । पत्रकार महासङ्घ धनकुटा पूर्व अध्यक्ष खगेन्द्रप्रसाद घिमिरेले राजनीतिक दलका धम्कीका कारण पत्रकारितामा समस्या रहेको बताउनु भयो । उहाँले आफ्नो पक्षमा समाचार लेखाउन राजनीतिक दलले पत्रकारलाई धम्क्याउने तथा आर्थिक प्रलोभन देखाएर जिल्लामा सञ्चारकर्मीलाई समस्यामा र राजनीतिक आस्थाका कारण केही पत्रकारले निष्पक्ष समाचार लेख्न छोडेको बताउनु भयो । पत्रकार महासङ्घ धनकुटा अध्यक्ष नगेन्द्र राईले सामाजिक सञ्जालका कारण पत्रकारिता धरापमा परेको बताउनु भयो । कार्यक्रममा विभिन्न सङघ,संस्थाका प्रतिनिधि, अधिकारकर्मीको सहभागिता थियो ।
ईश्वर थापा