जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया सम्पन्न

सुर्खेत । २०७८ पुस १९ गते

इन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजनामा पुस १६ गते कर्णाली प्रदेशका इन्सेक जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सुर्खेतमा सम्पन्न भएको हो । जिल्लाको मानव अधिकारको अवस्था, मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन र अभिलेखको स्थिती र इन्सेक अनलाइनसँग सम्बन्धित विषयमा प्रतिनिधिहरूसँग छलफल गरिएको इन्सेक प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला प्रतिनिधिहरूले जिल्लाको अवस्था, काम गर्दाका समस्या तथा चुनौतिको बारेमा संक्षिप्त रूपमा प्रस्तुत गरेका थिए । अनलाइनमा समाचार प्रकाशनमा ढिलाई भएको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

इन्सेक अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिनाले प्रतिनिधिले सङ्कलन गरेका घटनाहरू प्रकाशनले नीति संशोधन तथा निर्माण गर्न र पीडितलाई न्याय प्राप्तिका लागि सहयोग भइरहेको बताउनुभयो । उहाँले समाचार सङ्कलन गर्दा अनलाइन निर्देशिकालाई अनुसरण गर्न प्रतिनिधिलाई आग्रह गरियो । मानव अधिकार वर्ष पुस्तक सम्पादक मण्डलका सम्पादक गोविन्द त्रिपाठीले मानव अधिकार घटना सङ्कलनको तथ्याङ्कमा सत्यता हुनुपर्ने र पीडितको विस्तृत विवरण सङ्कलन गर्नुपर्नेमा जोड दिनुभयो । इन्सेक संयोजक सुवेदीले जिल्लामा मानव अधिकार उल्लङ्घन र ज्यादतिका घटना छुटेको हुन सक्ने भन्दै त्यसतर्फ सचेत भएर लाग्न आग्रह गर्नुभयो ।

पूर्णबहादुर खड्का