मानवअधिकार सम्वन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि जिल्ला र स्थानीय तह समन्वय समितिलाई क्रियाशील बनाउने प्रतिवद्धता जनाइएको छ ।
जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा र नेपाल नगरपालिका महासंघका महासचिव एवं घोराही उपमहागनरपालिकाका प्रमुख नरुलाल चौधरी र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जका कार्यक्रम अधिकृत टेकनाथ आचार्य तथा इन्सेक जिल्ला प्रतिनिधि जयनारायण पुनवीच भदौ ११ गते घोराहीमा भएको छुट्टा छुट्टै छलफलमा मानवअधिकार सम्वन्धी कार्ययोजना कार्यान्वयनका लागि जिल्ला स्तरीय समन्वय समिति र जिल्लाका दशवटै पालिकाका स्थानीय तह समन्वय समितिलाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाइएको हो ।

मानवअधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि जिल्लास्तरमा र दाङका दशवटै स्थानीय तहमा समन्वय समिति यसअघि नै गठन गरिसकेको उल्लेख गर्दै जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले जिल्ला स्तरीय समितिको वैठक राखेर निर्देशित कार्य गर्ने र स्थानीय तहका समितिहरुलाई पनि क्रियाशील बनाउन पत्राचार गर्ने र आवस्यक समन्वयको काम गर्ने प्रतिवद्धता जनाउनुभयो । मानवअधिकारमैत्री नीति निर्माण तथा विकासका लागि कार्ययोजनाको कार्यान्वयनमा जोड दिइने उहाँले बताउनुभयो ।

यस्तै नेपाल नगरपालिका महासंघका महासचिव एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले मानवअधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि योजनावद्ध काम गर्न नसकिएको भन्दै स्थानीय तहमा बनेका समितिलाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाउनुभयो । उहाँले मानवअधिकार प्रवद्र्धनलाई टेवा पुग्नेगरी नीति निर्माण तथा कार्यक्रमहरु भएपनि त्यसको छुट्टै शाखा वा फोकल पर्सन तोकेर काम गर्न नसकिएको बताउनुभयो । उहाँले आफ्नै नेतृत्वमा स्थानीय समन्वय समिति निर्माण भएको र यसलाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाउनुभयो । छलफलका क्रममा नेपाल सरकारले तयार गरेको मानवअधिकार सम्वन्धी छैटौं राष्ट्रिय कार्ययोजना (२०८३/८४–२०८७/८८) इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जका कार्यक्रम अधिकृत टेकनाथ आचार्यले दुवै जनालाई हस्तान्तरण गर्नुभएको थियो ।
HUMAN RIGHTS NEWS PORTAL







