जैमिनी नगरपालिकामा खाद्य, शिक्षा, स्वास्थ्य र आवास सम्बन्धी समस्या पहिचान कार्यक्रम सम्पन्न

बाग्लुङ । २०७७ असोज २६ गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयद्वारा बागलुङको जैमिनी नगरपालिकामा गठित मानव अधिकार निगरानी समूहको बैठकले नगरभित्र भएका समस्याको पहिचान गरेको छ । असोज २५ गते जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा समस्या पहिचान तथा सरोकारवालाको पहिचान र कार्ययोजना निर्माणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मानव अधिकार निगरानी समूह र सरोकारवाला बीचमा भएको बैठकले पहिचान भएका समस्याहरुको समाधानको लागि कार्ययोजना समेत निर्माण गरेको छ । मानव अधिकार संरक्षण र सम्र्वद्धनका लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम अन्तर्गत सम्पन्न भएको बैठकले कोभिड –१९ का कारणले जैमिनी नगरपालिकाको शिक्षा, स्वास्थ्य र निम्न आयस्रोत भएका वर्गमा पारेको असर र प्रभाव बारे छलफल गरेको थियो ।

बैठकमा जैमिनी नगरपालिकाका खेती योग्य जमिनको माटो परीक्षण, नियमित बजार अनुगमन गर्नुपर्ने, २०७२ सालको भुकम्पपछि घर भत्किएपनि हालसम्म क्षतिपूर्ती प्राप्त गर्नबाट छुटेर आवास निर्माण गर्न नसकेकाहरुको लागि आवास निर्माण, स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र शिक्षा सञ्चालन गर्नुपर्ने, बालविवाह न्यूनीकरण तथा रोकथामको लागि जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, दलित जनजाती र पछाडी परेका वर्गहरुको लागि आउने योजना तथा कार्यक्रमहरु लक्षित वर्गसम्म पुर्याउनुपर्ने, कोरोना महामारीको बीचमा पनि स्वास्थ्य संस्थाहरुमा चेकजाँचको लागि पुग्नेहरुको लागि सहज बातावरण बन्नुपर्ने लगाएतका बारेमा छलफल भएको थियो । कार्यक्रममा मानव अधिकार निगरानी समूहका संयोजक मेघराज ढकालले जैमिनी नगरपालिकामा शिक्षा, स्वास्थ, खाद्य र आवासमा नगरपालिकाले गरेका कामहरूको प्रशन्सा गर्दै आगामी दिनमा पनि नगरपालिकाले विषेश रूपमा मानव अधिकारको विषयमा ध्यान दिनुपर्ने बताउनुभएको थियो ।ढकालले समूहको आगामी कार्यक्रममा नगरपालिकासँग मागदाबी गर्ने गरी कार्ययोजना निर्माण गरिएको बताउनुभयो । इन्सेक बागलुङकी सहजकर्ता साधना पन्तको सहजिकरणमा सम्पन्न भएको कार्यक्रममा १२ जनाको सहभागिता रहेको थियो ।

सिर्जना पन्त