





बाग्लुङ । २०७७ कात्तिक २७ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजना कात्तिक २६ गते बागलुङको जैमिनी नगरपालिकामा स्वास्थ्यको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बाल्दै जैमिनी नगरपालिकाका नगरप्रमुख इन्द्रराज पौडेलले नगरपालिकाका नागरिकको स्वास्थ्य प्रति आफूहरू सम्वेदनशील रहेको बताउनुभएको थियो । उहाँले पछिल्लो समय मानव अधिकारको दायरा फराकिलो भएकाले विकसित मुलुकको बराबरी गर्न नसके पनि उपचारात्मक, प्रर्वद्धनात्मक, सरसफाई र आधारभूत स्वास्थ्य सेवामा सम्वेदनशील रहेको बताउनुभएको थियो । त्यसैगरी जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले नगरपालिकाका २९ ओटा खोप केन्द्रबाट १२ प्रकारका नियमित खोप प्रदान गर्दै आएको, नगरपालिकाका सबै स्वास्थ्य संस्थामा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी रहेको, नगरपालिकाका सात ओटा वडामा बर्थिङ सेण्टर रहेको र बाँकी तीनमा तयारी रहेको, स्वास्थ्य संस्थामा कम्प्यूटर र इन्टरनेटको व्यवस्था, किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा, विभिन्न समयमा आँखा शिविर सञ्चालन, १ सय ३८ जना महिला स्वास्थ्य स्वंयमसेविकलाई १ सय ३८ ओटा स्टेचर हस्तान्तरण गरिएको बताउनुभएको थियो ।
कार्यक्रममा राङखानी स्वास्थ्य चौकीका सिनियर अहेव टुकनाथ शर्माले सामान्य रूघाखोकी लागेर तातोपानी र आरामले पनि निको हुने बिरामीलाई एन्टीबायोटीक दिनुपर्ने बाध्यात्मक उपचार पद्धति आफूहरूले अवलम्बन गर्नुपरेको बताउनुभएको थियो । ‘सल्लाह, सुझाव दिंदा स्वास्थ्यकर्मीले राम्रो उपचार नगरेको, औषधि नदिएको आरोप लाग्छ,’ –उहाँले भन्नुभयो – ‘निजी स्वास्थ्य संस्थामा पुगेर भएपनि औषधि खाने र सरकारीलाई गाली गर्ने प्रचलन बढी छ, त्यसैले बाध्यतामा परेर पनि औषधि दिनुपर्छ ।’ उहाँले जनप्रतिनिधि र स्वास्थ्य संस्थाप्रतिको समन्वय कमजोर रहेको बताउनुभएको थियो । सरकारको नजरमा स्वास्थ्य सेवा प्राथमिकतामा नपरेको कारणले नै महामारीको समयमा ठुलो क्षति व्यहोर्नु परेको समेत बताउनुभयो । त्यसैगरी स्वास्थ्य विमा अभिकर्ता एलु थापाले स्वास्थ्य संस्था प्रति बिरामीको विश्वास बढाउने गरी स्वास्थ्यकर्मीले काम गर्नुपर्ने बताउनुभएको थियो ।
स्वास्थ्यकर्मीले राम्रो व्यवहार नगर्ने, समयमा चेकजाँच नगर्ने गरेका कारण स्वास्थ्य बीमा गराउन समेत समस्या परेको भन्दै उहाँले चेकजाँच नै नगराइ रिफर माग्ने अवस्था सिर्जना हुन नदिन स्वास्थ्य संस्था सचेत हुनुपर्ने बताउनुभयो । कार्यक्रमका सहभागीहरूले गर्भवति र सुत्केरी आमाको लागि नगरपालिकाले पोषण कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका थिए । सबै स्वास्थ्य संस्थामा अनुभवी स्वास्थ्यकर्मी हुनुपर्ने, कोरोनाको महामारी भन्दै बिरामीलाई स्वास्थ्यकर्मीले राम्रो व्यवहार नगरेको, स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवाहरू स्वास्थ्य संस्थाको भित्तामा चित्र सहित लेखेर टाँस्नुपर्ने, महिला स्वास्थ्य स्वयमसेविकालाई तालिम दिइनुपर्ने र स्वास्थ्यकर्मीले व्यक्तिगत आचारणमा ध्यान दिनुपर्ने सहभागीले बताएका थिए । कार्यक्रम मानव अधिकार समूहका संयोजक मेघराज ढकालको अध्यक्षतामा सम्पन्न गरिएको कार्यक्रमको इन्सेक जिल्ला प्रतिनिधि सिर्जना पन्त र जिल्ला सहजकर्ता साधना पन्तले गर्नुभएको थियो ।
सिर्जना पन्त