डाक्नेश्वरी नपामा बाल अधिकार शिविर तथा तालिम सम्पन्न

सप्तरी । २०७९ मङ्सिर २३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना र डाक्नेश्वरी नगरपालिकाको समन्वयमा मङ्सिर २२ र २३ गते आयोजित बाल अधिकार शिविर तथा बाल अधिकार समूहको क्षमता अभिवृद्धि तालिम मङ्सिर २३ गते सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि डाक्नेश्वरी नपा का नगर प्रमुख रामलखन मुखियाले बालबालिकाको अधिकार सम्बन्धी सवाललाई मूलप्रवाहीकरण गर्दै बालमैत्री स्थानीय शासनको संस्थागत विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बाल अधिकार प्रवद्र्धनका लागि बाल क्लब तथा बाल सञ्जालको गठन, परिचालन, क्षमता विकास, स्थानीय तहको योजना तर्जुमामा सहभागिता, बालमैत्री पूर्वाधारको विकास एवम् सचेतीकरण जस्ता काममा नपाले ध्यान दिने भन्नुहुँदै मुखियाले बाल विवाह मुक्त नगर र बाल मैत्री नगरको पहल गर्ने बताउनु भयो । उहाँले प्रत्येक माध्यमिक विद्यालयमा बिज्ञान प्रयोगशाला र नर्सको व्यवस्थाको लागि संघीय सरकारसँग माँग गर्ने बताउनु भयो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख चन्द्रकला कुमारी साहले नपामा बालबालिकाको बजेट अवस्था र बाल क्लब परिचालन विषयमा सहजिकरण गर्नु भयो । इन्सेकको सहयोगमा दुई ओटा बिद्यालयमा बाल अधिकार समूह गठन भएकोमा अब प्रत्येक बिद्यालय र वडामा बाल क्लब र सञ्जालहरू गठन गरिने साहले बताउनु भयो । यसपटक नपाको बजेटमा बालबालिकाहरूका लागि बजेट राखिएको जानकारी दिनुहुँदै साहले नगरभित्रका बालबालिकालाई समस्या परेमा सम्पर्क गर्न आग्रह गर्नुभयो । इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले तालिमको उद्देश्य, बाल अधिकार समूहको काम, कर्तव्य र अधिकार, बाल भित्ते पत्रिका प्रकाशन विधि साथै बाल अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनका विषयमा सहजिकरण गर्नु भयो ।

इन्सेक सप्तरी प्रतिनिधि मनोहर कुमार पोखरेलले स्थानीय सरकारसँग बाल क्लबको संलग्नताबारे जानकारी दिनुहुँदै बाल अधिकारका चार स्तम्भअन्तर्गत बालबचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताका विषयमा सहजिकरण गर्नु भयो । इन्सेक मधेस प्रदेश कार्यालयका कार्यक्रम फोकल पर्सन बरुण बस्यालले सामाजिक समस्या र त्यसको समाधानमा बालबालिकाको भूमिका, बाल अधिकार समूहको कार्य योजना, बाल अधिकार समूह र स्थानीय सरकारको नीति तथा कार्यक्रममा बाल अधिकारका सवालहरूका सन्दर्भमा सहिजकरण गर्नु भयो ।
रामेश्वर बाल अधिकार समुहकी अध्यक्ष अन्जली मण्डलले तालिमबाट बालबालिकाको धेरै अधिकार र कर्तव्यहरूबारे जानकारी पाएको बताउनु भयो । समुदायमा हिंसा भएमा मौन नबस्ने भन्नुहुँदै उहाँले वर्तमान अवस्था र समस्याबारे अवगत गराउनु भयो ।

तालिममा नपाको आर्थिक जिन्सी शाखा प्रमुख राजदेव मण्डल, प्रधानाध्यापक पवनकुमार इशर, मानव अधिकार निगरानी समूहका अध्यक्ष चिन्तामणी चौधरी, सदस्य देबकुमारी मण्डल, बाल अधिकार समूहका ५० जना बालबालिका तथा संरक्षक शिक्षकहरू बलराम पण्डित र मनोज कुमार चौधरी, पत्रकार नविन यादवको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन र व्यवस्थापन इन्सेक सप्तरी सहजकर्ता विशेन्द्र पासवानले गर्नु भएको थियो ।

मनोहरकुमार पोखरेल