दिवा खाजा व्यवस्थापन गर्ने प्रतिबद्धता

सुर्खेत । २०७७ कात्तिक २० गते

 

लेकवेशी नपाका उपप्रमुख शान्तिकुमारी छन्तेलले लेकवेशीनपामा रहेका सबै प्राथमिक तहका विद्यार्थीहरूलाई दिवा खाजा व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले कात्तिक १९ गते लेकवेशी नपामा आयोजना गरेको शिक्षाको अधिकार विषयक कार्यक्रममा बोल्दै उपप्रमुख छन्तेलले यस्तो प्रतिबद्धता जनाउनु भएको हो । का विद्यार्थीहरूलाई दिवा खाजा तथा आवश्यक अनुदान र राहतको कार्यक्रम  ल्याउने उपप्रमुख छन्तेलको भनाई थियो ।

कार्यक्रममा सहभागिले कोभिड १९ को कारण शैक्षिक सत्र अस्तव्यस्त बनेको, माध्यमिक तहलाई अनुदान तथा राहत दिइने भएपनि प्राथमिक र आधारभुत तहलाई वेवास्ता गरिएको, कात्तिक १६ गतेदेखि लेकवेशी नपामा रहेका नीजि तथा सामुदायिक  विद्यालयहरू सञ्चालनमा ल्याइए पनि अन्यत्रबाट आएका शिक्षकहरूको पीसीआर परीक्षण गर्नेतर्फ पहल नगरिएको समस्याहरु उल्लेख गरेका थिए । लेकवेशी नपा मानव अधिकार समूहका सचिव मेनका रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समूहका सदस्य, जनप्रतिनिधि, शिक्षक, अविभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, समाजसेवी र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

दुर्गा थापा