देवचुलीमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न
नवलपरासी (पूर्व) । २०८० भदौ २५ गते
देवचुली नगरपालिकामा मानवअधिकार समूहको स्थानीय स्तरमा रहेका समस्या पहिचान तथा कार्ययोजना बैठक २०८० भदौ २४ गते सम्पन्न गरिएको छ । बैठकबाट नगरपालिकामा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान गरिएको छ । जसअन्तरगत शिक्षा क्षेत्रमा देखिएका समस्यामा निःशुल्क शिक्षा भनेपनि कार्यान्वयन नभएको, विद्यालय भवनहरू अपाङ्गमैत्री नभएको, सामाजिक सञ्जाल प्रयोग सम्बन्धी विद्यार्थीहरूमा सचेतना नहुँदा बालबालिकाहरू विभिन्न हिंसामा पर्ने गरेको, बालबालिकामैत्री र किशोरीमैत्री संरचना नभएको, विद्यालयमा सञ्चालित खाजा कार्यक्रमको गुणस्तर केकस्तो छ भन्ने विषयमा अनुगमन नभएको लगायतका समस्या बैठकबाट पहिचान गरिएको छ । यस्तै स्वास्थ्य क्षेत्रमा देखिएको समस्यामा , स्वास्थ्य बीमा कार्यक्रम सबै नागरिकसम्म पुग्न नसकेको, बीमाबाट उपचार लिन निकै झन्झट हुँदा सेवाग्राही मर्कामा परेको, माध्यामिक विद्यालयमा नर्स कार्यक्रम लागू हुन नसकेको र स्वास्थ्य सचेतनाका कार्यक्रम पर्याप्त नभएको लगायतका समस्या पहिचान भएको इन्सेक जिल्ला सहजकर्ता राजु चापागाईंले जानकारी दिनुभयो ।
यसैगरी विभेदको सवालमा जातीय विभेद अझै पनि कायम रहेको, बालिका तथा महिलाहरू बढि हिंसामा पर्ने गरेको, हिंसामा परेका बालिका र महिलालाई न्याय पाउन गाह्रो हुने गरेको, दलित तथा सीमान्तकृत वर्गको सहभागितामा चासो नदिएको, हिंसा न्यूनीकरणका लागि पर्याप्त सचेतना नभएको जस्ता समस्या पहिचान गरिएको सहजकर्ता चापागाईंले जानकारी दिनुभयो । यस्तै वातावरण सम्बन्धी समस्याहरूमा फोहोरमैला व्यवस्थापनको लागि फोहोर व्यवस्थापन स्थलको अभाव, उद्योगबाट निस्केको प्रदुषणबाट स्थानीयलाई असर भएको, उद्योग तथा कलकारखाना मापदण्ड विपरित सञ्चालन भएको, जसको नियमन तथा निरन्तर अनुगमन हुन नसकेको, फोहोरमैला व्यवस्थापन तथा वर्गीकरणका लागि स्थानीयमा सचेतनाको अभाव रहेको जस्ता समस्या पहिचान गरिएको सहजकर्ता चापागाईंले बताउनुभयो । मानवअधिकार समूहका संयोजक कृष्णबहादुर बिकको अध्यक्षतामा बसेको बैठकमा समूहका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । बैठकमा पहिचान भएका समस्याको न्यूनीकरण तथा समाधान गर्न मानवअधिकार समूहले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने समूहका संयोजक बिकले बताउनुभयो ।
इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा