दैलेखमा जिल्ला स्तरीय मानव अधिकार रक्षक सम्मेलन
दैलेख । २०७९ फागुन १३ गते
कर्णाली प्रदेशसभाका सदस्य गमता बिकले सामाजिक कुरीति हटाउन समाजका अगुवाहरु अग्रसर हुनुपर्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले दैलेख सदरमुकाममा आयोजना गरेको मानव अधिकार रक्षकहरुको जिल्ला स्तरीय सम्मेलनमा उहाँले निरन्तरता दिन सुझाव दिनु भयो । समाजका अगुवाहरुले कुरीति हटाउन लाग्दा बाधाहरु आउछन् आत्मबिश्वासका साथ अघि बढे कुरीति र कुसंस्कार हटेर जान्छन् प्रदेशसभा सदस्य बिकले भन्नु भयो । अधिकार प्राप्तिका लागि कर्तव्य पालना गर्नु पर्ने चेतना पनि जरुरी रहेको उहाँले औल्याउनुभयो । कार्यक्रममा जिल्ला समन्वय प्रमुख नमराज शाहीले मानव अधिकार रक्षकहरुले कसैको पक्ष नलिएर निस्वार्थ, पवित्र मनले काम गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले घरेलु हिंसा प्रमुख समस्या रहेको औल्याउदै रोकथाममा जुट्न आग्रह गर्नु भयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले आफैले भोगिरहेको शोषण, उत्पीडन विषयमा बोल्न नसक्नेहरुको अधिकारको विषयमा बोल्ने मान्छे मानव अधिकार रक्षक भएको र रक्षक आफै असुरक्षित जोखिममा रहेकोले सुरक्षा प्रत्याभूती गराउन सम्मेलन गरिएको बताउनु भयो ।
सम्मेलन उद्घाटन सत्रमा अवसरमा मानव अधिकार रक्षक सञ्जाल दैलेखका सहसंयोजक लिला खत्री, इन्सेकको अधिकार–२ परियोजनाका संयोजक किरण पौडेल लगायले मानव अधिकारले ग्रामीण तहमा गरिरहेका मानव अधिकार सम्वद्र्धनका काम र सरकारका निकायसंगको सहकार्य विषयमा प्रकाश पार्नु भएको थियो । सामाजिक परम्परा, कुरीति र मानवअधिकार सवाल, जघन्य मानव अधिकार उल्लङ्घन घटना र न्याय प्राप्तिको अभियान सन्दर्भ र मानव अधिकार उलङ्घन घटनामा अनुसन्धान र पीडितको न्यायमा पहुँच विषयमा प्यानल छलफल गरिएको थियो । परम्परा, कुरीति र मानवअधिकार सवालमा कर्णाली प्रदेशसभाका सदस्य गमता बिक, नारायण नगरपालिका उपमेयर तप्ताकुमारी थापा, इन्सेकका कर्णाली प्रदेश संयोजकलाई म्यानल अतिथिमा राखी धारणापछि सहभागी मानव अधिकार रक्षकहरुले समुदायका सवालहरु उठाउनु भयो ।
जघन्य मानव अधिकार उल्लङ्घन घटना र न्याय प्राप्तिको अभियान सन्दर्भ नेपाल बार एशोसियसनका जिल्ला अध्यक्ष ललितबहादुर थापा, इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार र सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम)का जेसी अफिसर लिला खत्रीले सहजीकरण गर्नु भएको थियो । न्याय प्राप्तिको अभियान सन्दर्भ र मानव अधिकार उलङ्घन घटनामा अनुसन्धान र पीडितको न्यायमा पहुँच विषयमा राष्ट्रिय मानव अधिकार आयोगको कर्णाली प्रदेश कार्यालयका कार्यालय प्रमुख लोकनाथ बास्तोला, जिल्ला सरकारी वकील कार्यालय दैलेखका जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महत र जिल्ला प्रहरी कार्यालय दैलेख डीएसपी किशोर लम्साललाई प्यानल अतिथि बनाइएको थियो । प्यानल छलफलहरुमा सेसनहरु मावन अधिकार सम्वद्र्धनका लागि गरिएका प्रयास, कानूनको पालना, पीडितले न्याय पाउने प्रक्रिया, प्रक्रियागत जटिलता र समस्याहरुको समाधानको सवाल विषयमा सहभागीहरुले प्रश्न गर्नु भएको थियो । राज्यका सरकारी निकायका अधिकारीहरुले भइरहेका प्रयासहरु बारे जानकारी गर्दै मानव अधिकार संरक्षण तथा प्रवद्र्धन काममा आपसी सहकार्य सवालमा खुला अन्तरक्रिया भएको थियो ।
त्यस अवसरमा राष्ट्रिय मानव अधिकार आयोगको कर्णाली प्रदेश कार्यालयका कार्यालय प्रमुख लोकनाथ बास्तोलाले बदलिदो परिवेशमा मानव अधिकार रक्षकका काम, कर्तब्य ,अधिकार र स्थानीय सरकारसंगको भूमिका विषयमा सहजीकरण गर्नुभयो । मानव अधिकारका सवालमा स्थानीय तह र सरोकारवालाको भूमिका आइतवार प्यानल छलफल, कर्णाली प्रदेशसभामा विचाराधीन मानव अधिकार रक्षक सम्बन्धी प्रस्तावित विधयक बारेको छलफल गर्ने कार्यसूची रहेको जिल्ला स्तरीय मानव अधिकार रक्षकहरुको सम्मेलन कार्यक्रमले घोषणापत्र जारी गर्ने बताइएको छ ।
अमर सुनार