धनकुटामा बाल अधिकार र महिला अधिकारविरूद्धका घटनामा वृद्धि
धनकुटा । २०७८ मङ्सिर २५ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले जिल्लामा गत वर्षको तुलनामा यस वर्ष महिला र बालअधिकारविरूद्धका घटनामा वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरेको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच मङ्सिर २५ गते आयोजना गरिएको समीक्षा कार्यक्रममा जिल्लामा महिला र बालबालिकाविरूद्धका घटनामा वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरिएको हो ।
इन्सेक अभिलेखका आधारमा सन् २०२१ को जनवरीदेखि नोभेम्वरसम्मको ११ महिनाको अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका ५७ ओटा घटना अभिलेखीकरण गरिएको छ । जसमा ३२ ओटा घटना घरेलु हिंसाका, सात जना बालिकासहित २२ जना महिला बलात्कार घटनामा पीडित भएको इन्सेक अभिलेखमा उल्लेख छ । दुई जनाको हत्या, एक जना प्रहरीको कुटपिटबाट पीडित भएको इन्सेक अभिलेखमा उल्लेख छ । समीक्षमा इन्सेक प्रतिनिधिले जिल्लामा गत वर्ष ५ जनाको हत्या, घरेलु हिंसाका १० ओटा र बलातकारका १० ओटा घटना अभिलेखीकरण गरिएको बताउनु भयो ।
सन् २०२० मा भन्दा २०२१ मा धनकुटामा करिब ९७ प्रतिशतले मानव अधिकारसँग जोडिएका घटनामा वृद्धि भएको उल्लेख छ । समीक्षाका सहभागीहरूले मानव अधिकार उल्लङ्घनका घटना बढेको पाइएकाले यसको न्यूनीकरणका लागि इन्सेकले सचेतनामुलक र कानुनी साक्षरता कार्यक्रम धनकुटामा सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् । कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर काशीराम रेग्मीले लकडाउनका कारण घरेलु हिंसाका घटनामा वृद्धि भएको बताउनु भयो । उहाँले अन्य जिल्ला भन्दा धनकुटामा मानव अधिकार उल्लङघनका घटना निकै कम रहेको बताउनु भयो ।
गैरसरकारी संस्था महासङ्घ धनकुटा अध्यक्ष मीनप्रसाद सुवेदीले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना न्यूनीकरण गर्न सबैको हातेमालो आवश्यक भएको बताउनु भयो । उहाँले घटना सार्वजनिक गर्दा स्थानीय तहस्तरीय तथ्याङ्क प्रस्तुत गरेर सबै स्थानीय तहमा पठाउन इन्सेकलाई सुझाव दिनुभयो । केही स्थानीय तहले मानव अधिकारको क्षेत्रमा केही बजेट विनियोजन गरेको जानकारी आफूले पाएकोले त्यो बजेट सहि ठाउँमा खर्च भए नभएको बारेमा इन्सेकले जानकारी लिँदै स्थानीय तहसँग सहकार्य गरेर काम गर्न सुभाव दिनुभयो ।
इन्सेक धनकुटा पूर्व जिल्ला प्रतिनिधी निलबहादुर थापाले इन्सेकलाई घटना सङ्कलन गर्न केही असहजता भएतापनि राम्रो काम गरेको बताउनु भयो । उहाँले आफूले काम गर्दा भोगेको अनुभव सुनाउँदै वास्तविक पीडितसँग भेट गर्न इन्सेक प्रतिनिधीलाई निकै असहज हुने गरेकाले सबैले सहयोग गर्नुपर्ने बताउनु भयो । उच्च अदालत बार धनकुटाका प्रतिनिधि ठगिनकुमार राईले बलात्कारका घटनामा अलि अनुसन्धान गर्नुपर्ने बताउनु भयो । उहाँले मिलेमतोमा केटाकेटीसँगै बस्ने अनि केही वादविवाद भए केटीले बलात्कार भनेर फसाउने गरेको घटना धेरै रहेको बताउनु भयो । उहाँले यसलाई न्यूनीकरण गर्नु अहिलेको आवश्यकता भएको बताउनु भयो ।
समीक्षामा जिल्ला प्रशासन कार्यालय धनकुटा, जिल्ला प्रहरी कार्यालय, गैर सरकारी संस्था महासङ्घ धनकुटा, सशत्र प्रहरी बल छिन्ताङ गुल्म, वन उपभोक्ता महासङ्घका प्रतिनिधिहरू र पत्रकाहरूको सहभागिता रहेको थियो ।
ईश्वर थापा