नगर प्रमुखलाई ध्यानाकर्षण हस्तान्तरण
सप्तरी । २०८० पुस २४ गते
इन्सेकद्वारा गठित डाक्नेश्वरी नगरपालिकाको मानव अधिकार समूहले नागरिकताको अभावमा सामाजिक सुरक्षा भत्ता र अन्य अधिकारबाट वञ्चित डाक्नेश्वरी नगरपालिका–७ की चनरदेबी सदाको समस्या समाधानका लागि ०८० पुस २२ गते नगरपालिकाको ध्यानाकर्षण गराएको छ । मानव अधिकार समूहलाई परेको निवेदन पछि अनुगमन गरी समूहका पदाधिकारीले डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख रामलखन मलाहालाई ध्यानाकर्षण–पत्र बुझाएका हुन् । स्थानीय सरकार सञ्चालन ऐन तथा पाँचौ राष्ट्रिय कार्ययोजना अनुरूप जनताका आधारभूत आवश्यक्ता परिपुर्ति गर्ने दायित्व स्थानीय सरकारको पनि भएकोले पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन गराउने उद्देश्यले नगरप्रमुख मलाहालाई ध्यानाकर्षण–पत्र बुझाइएको हो ।
ध्यानाकर्षण–पत्रमा अधिकारबाट बञ्चित जेष्ठ एकल महिलाको नागरिकता बनाउन पहल गरि दिनुहुन अनुरोध गरिएको छ । नगर प्रमुख मलाहाले समस्या समाधानका लागि सहयोग र पहल हुने प्रतिबद्धता जनाउनु भयो । मानव अधिकार समूहका अध्यक्ष रामचन्द्र मण्डल र पदाधिकारी, सदस्यहरूको टोलीले अनुगमन र ध्यानाकर्षण पत्र बुझाएको इन्सेक जिल्ला सहजकर्ता अजय परियारले बताउनु भयो ।
मनोहरकुमार पोखरेल