नागरिकका आवाजलाई सम्बोधन गर्ने प्रतिवद्धता
सुर्खेत । २०७७ मङ्सिर १८ गते
कर्णाली प्रदेश सभाका सामाजिक विकास समितिका सभापति देवी वलीले नागरिकका आवाजलाई समितिमार्फत प्रदेश सरकारको ध्यानाकषर्ण गराउने प्रतिवद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले मङ्सिर १७ गते वीरेन्द्रनगरमा आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा प्रदेश सरकार व्यवस्थापिकाको भूमिका विषयक अन्तरक्रियामा बोल्दै सभापति वलीले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । ‘कर्णाली प्रदेशमा स्रोतको कमी छैन, परिचालनमा समस्या छ । नीति र कानुन भएपनि सोचे अनुसारको काम हुन नसक्दा आगाामी दिनमा व्यवस्थित प्रणालीको विकास गरी शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालहरूलाई समाधान गर्ने गर्नेछौं’ सभापति वलीले भन्नुभयो ।
स्वास्थ्य क्षेत्रमा देखापरेको समस्या तथा बेथितीलाई समाधान गर्ने गरी प्रदेश सरकारले तयार गररेको स्वास्थ्य सम्बन्धी विद्येयक पारित हुने चरणमा रहेको उल्लेख गर्दै विद्येयक पारित भएमा स्वास्थ्य सम्बन्धी अधिकांश समस्याहरू समाधानहुने बताउनु भयो । सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौडेलले कोभिडका कारण शिक्षा र स्वास्थ्य क्षेत्र बढी प्रभावित भएको चर्चा गर्दै त्यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न योजना बनाई लागि परेको बताउनु भयो । सचिव पौडेलले सहभागीहरूले कार्यक्रममा उठाएका सवालहरूलाई आगामी वर्षको नीति तथा योजनामा समावेश गर्ने र संशोधन गर्न सकिने विषयलाई यसै आर्थिक वर्षमा संशोधन गरिने प्रतिवद्धता जनाउनु भयो ।
कर्णाली प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्यामलाल कंडेलले अस्पतालमा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा प्रभावकारी सेवा दिन नसकेको भनाइ राख्नुभयो । इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले नागरिकहरूले उठाएका सवालमा राज्यले सम्मान, संरक्षण र परिपुर्ति गर्दै क्षमता अनुसारको सेवा सुविधा दिनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अधिकृत पदम सुवेदी, सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका करूणा भट्टराई, भौतिक पुर्वाधार मन्त्रालयका इन्जिनियर रामचन्द्र विसी, राष्ट्रिय कृषक महासंघका शशिराम आचार्य अपाङ्ग महासंघका मायाप्रसाद जैसी, सञ्चारकर्मी टेकेन्द्र विक, भूमि अधिकार मञ्चका राजेन्द्र शर्मा र मानव अधिकार समूहका सदस्य सम्झना विकले भनाई राख्नुभएको थियो ।
दुर्गा थापा
HUMAN RIGHTS NEWS PORTAL








