निर्वाचनको तयारी र सुरक्षा व्यवस्थापन तथा मौन अवधिमा आचार संहिता उल्लङ्घन भइरहेको सूचनाका सन्दर्भमा इन्सेकको अनुगमन
बाँके । २०७९ मङ्सिर ३ गते
इन्सेक लुम्बिनी प्रदेश कार्यालयले निर्वाचनको तयारी र सुरक्षा व्यवस्थापनका सन्दर्भमा जिल्लाका सरोकारवाला निकायका प्रमुखहरूसँग छलफल गर्नुका साथै मतदान स्थलहरूको अनुगमन गरेको छ । छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले सुरक्षाको सबै प्रवन्ध मिलाई सकेको बताउदै मौन अवधिमा आचार संहिता उल्लङ्घन भएको विषय तथ्यहीन रहेको बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका एसपी श्यामकृष्ण अधिकारीले निर्वाचन सुरक्षा व्यवस्थापनमा प्रहरी सक्रिय रहेकोले ढुक्क रहन आग्रह गर्नु भयो । अधिकारीले पैसाको चलखेल र भोज भतेर भएको भन्ने अपुष्ट समाचार पछि नलाग्न आग्रह गर्नु भयो । अनुगमन टोलीमा इन्सेकका सधारण सदस्य कृष्णमुरारीप्रसाद भट्ट, इन्सेक प्रदेश संयोजक, भोला महत, इन्सेकका पर्यवेक्षक वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठ, इन्सेक प्रलेख अधिकृत विनोद पाण्डे रहनु भएको थियो ।
जिल्ला निर्वाचन अनुगमन समिती अधिकृत खडानन्द अधिकारीका अनुसार आचार संहिता विपरित गतिविधिको सूचना आउना साथ आफू उक्त स्थलमा जाने गरेको र सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउने गरेको बताउदै अपुष्ट र मिथ्या सूचनाका पछि नलाग्न आग्रह गर्नु भयो । अधिकारीले जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी भइसकेको जानकारी गराउनु भयो । अनुगमन टोलीले जिल्लाका विभिन्न निर्वाचन स्थल तथा सम्वेदनशील भनिएका निर्वाचन स्थलहरूको अनुगमन गरेका थियो । अनुगमनमा निर्वाचनका कामहरू भइरहेको पाइएको थियो ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज